श्रावण शुक्ल पूर्णिमा : धार्मिक तथा पर्यटकीयस्थलमा धामीझाँक्री मेला

Halesi Khabar
189 Shares

खोटाङ, ३ भदौ । बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !!
जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!
पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !!
सै राजा सै सै, सै रानी सै सै…

यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवम् ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थलहरुमा ढोलेतालेसहित धामीझाँक्रीहरु नाचिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्रीहरु श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् ।

गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरुमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्रीहरु जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थलहरुमा नुहाउन तथा पूजाआजा गर्न पुग्ने गरेका छन् ।

महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्रीहरु आज (सोमबार) बिहानैदेखि जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलहरुमा भेला भएका छन् । बराहपोखरी, भुलभुले दूधकुण्ड, साप्सुधाप, कान्छी सालपा, भालुखोला, होङ्मा पोखरी, जन्तेढुङ्गा लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुमा बिहानैदेखि धामीझाँक्रीको बृहत् मेला लागेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

धार्मिक तथा पर्यटकीयस्थलहरुमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिएका छन् । धार्मिक मेला भर्न आउने सर्वसधारणका लागि होटल तथा पसलहरुसमेत सञ्चालन गरिएका छन् ।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलहरुमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोगव्याधी हट्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक रहेको मुडेस्थित धार्मिक एवम् पर्यटकीयस्ल भालुखोलामा हिजो (आइतबार)देखि नै धार्मिक मेला लागेको छ ।

ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बुढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम राईले बताउनुभयो ।

श्रावण शुल्क पूर्णिमाको अवसरमा वर्षेनी ठूलो मेला लाग्ने धार्मिक एवम् पर्यटकीयस्थल भालुखोलामा विभिन्न मनोकाङ्क्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् । श्रावण शुल्क पूर्णिमाको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएकाले पनि धार्मिक तथा पर्यटकीयस्थलहरुमा लाग्ने धार्मिक मेला हेर्न तथा पूजाआजा गर्ने दर्शनार्थी एवम् भक्तजनको सङ्ख्या वृद्धि भएको हो ।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलहरुमा गएर दिनभर नाचगान गरेका धामीझाँक्रीहरु बेलुका घर फर्किएर सामुहिक तथा एकलरुपमा देवीदेवताको पूजाआरधानासहित रातभर चिन्ता बस्ने (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) गर्छन् । त्यस अवसरमा छरछिमेकका स्थानीय बासिन्दाले धामीझाँक्रीको शीर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने काम)समेत गर्ने प्रचलन रहिआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दीलकुमार राईले बताउनुभयो ।

पछिल्लो समय धार्मिकस्थलहरुको महत्व बढ्दै गएपछि जिल्लास्थित दशवटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिकस्लहरुको स्तरोन्नति तथा प्रवद्र्धन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लाखौँ रकम खर्चिएर साप्सुधाप र भुलभुले दूधकुण्डको स्तरोन्नति गरेको छ ।

सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति एवम् प्रवद्र्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै स्थानीय बासिन्दाहरुले बताएका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति एवम् प्रवद्र्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ ।

पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति तथा संरक्षण एवम् पवद्र्धनका माग बढिररहेका छन् । जिल्लास्थित सबै जातजातिका स्थानीय बासिन्दा आ–आफ्नो ऐतिहासिकस्थल संरक्षणमा जुटेका छन् ।

 

तपाईको प्रतिक्रिया