खोटाङ, ४ भदौ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङ्गका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिकरुपमै आकर्षक प्रकारका विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा १६० रोपनी क्षेत्रफल सरकारी जग्गामा फैलिएको छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा रक गार्डेन (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ । लामो समयअघिदेखि स्थानीय बासिन्दा घुमफिर र पिकनिक (वनभोज) जाने पर्यटकीयस्थल ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।
प्राकृतिकरुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मुर्ती बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा सँस्कृति झल्कने सजावट गर्ने लगायतका काम भइरहेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने पर्यटकीयस्थल ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामाकरण गरेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालको तस्वीर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुङ्गाकै स–साना गेट निर्माण गर्ने, रक गार्डेनको रुपमा विकास गर्न चारैतिर घेराबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा रिल्याक्स गर्नका लागि डाँडाडाँडामा काठका बिसौनी राख्नेगरी तयारी गरिएको छ । यस बाहेक रक गार्डेनमा विद्युत, पिउनेपानीको व्यवस्था, विश्रामस्थल, केवलकार, भोजनालय, कफीसप लगायतका संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।
भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनीडाँडा हलेसी भएर जाने नेपाल सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।
किराँती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट शुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी र ककनीडाँडा नजिकै किराँत सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ ।
नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्दुम ट्रेलको प्रवेशस्थलमा अवस्थित ढुङ्गै÷ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण शुरु गरिएको रक गार्डेनलाई निक्कै महत्वका साथ हेरिएको छ । लामो समयदेखि प्रयोगविहीन ककनीडाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माणको काम शुरु गरिएपछि आसपासका स्थानीय बासिन्दासमेत हर्षित बनेका छन् ।
ककनीडाँडामा रक गार्डेन निर्माण शुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रुपमा किनबेचसमेत शुरु भएको नगर प्रवक्ता एवम् महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “फोटोसेसन गर्नलाई विभिन्न किसिमका फ्रेम, ढुङ्गाको गोलाकार गेट, आउटडोर जिमखाना, वाबु (चिण्डो), पानीको फोहोरा निकाल्ने पोखरी, प्रतिक्षालय, आर्कषक फलैचाहरु, चिल्ड्रेनपार्क, ढुङ्गाको मुन गेट निर्माण सम्पन्न भएको छ । निर्माणाधीन अवस्थामै रहेको रक गार्डेन सबैको रोजाइमा पर्न थालेको छ”, उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थाका रक गार्डेन हलेसी आउने पर्यटकका लागि अर्को गन्तव्यस्थल बनेको छ । रक गार्डेन घुम्न तथा अवलोकन गर्नलाई अहिलेसम्म कुनै टिकट लिनुपर्दैन । निर्माण सम्पन्न भएपछि ठेक्का लगाएर प्रवेश शुल्क लिने योजना छ । यसले नगरको आन्तरिक आयस्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।”
फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस (सुरक्षाकर्मी), रेष्टुरेन्ट, प्रमुख प्रवेशद्धार, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको रक गार्डेनबाट सर्वोच्च शिखर सगरमाथा लगायत विभिन्न हिमश्रृङ्खला, छिमेकी जिल्लाहरु सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँटहरु सजिलै अवलोकन गर्न सकिन्छ ।
रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङ्कन गर्ने स्थलका रुपमा पनि लिन थालेका छन् । निर्माणाधीन अवस्थामा रहेको रक गार्डेन सम्पन्न गरेर सञ्चालनमा आएपछि म्युजिक भिडियोका लागि छुटाउनै नहुने स्थालको रुपमा विकास हुने अनुमान गरिएको छ ।
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुंदै आउन सकिन्छ । तराईका जिल्लाहरुबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल हुंदै पनि हलेसी आउन सकिन्छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत जयरामघाट–हलेसी सडकदेखि रक गार्डेन पैदल २०÷२५ मिनेटमा र सवारी साधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।
प्राकृतिकरुपमै स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको रक गार्डेनका लागि रु पाँच करोड बढीको डिपिआर तयार भएको नगरउपप्रमुख रमेश राउतले जानकारी दिनुभयो । “रक गार्डेन निर्माणमा अहिलेसम्म करिब रु तीन करोड खर्च भइसकेको छ । निर्माणाधीन अवस्थामै पर्यटकको रोजाइमा परेकाले निर्माणको कामलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले रक गार्डेन आवतजावत गर्ने सडक ढलान भइरहेको छ । सडक ढलानको काम सम्पन्न भएपछि सहजरुपमा आवतजावत गर्न हुन्छ ।”
सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा रक गार्डेन निर्माण गर्नेगरी स्तरोन्नति थालिएको ककनीडाँडामा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन् । निर्माणाधीन अवस्थामै रहेको रक गार्डेनका आकर्षक तस्वीरहरु सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भेटिन थालेका छन् ।
नगरपालिकाभित्र पर्ने सबै पर्यटकीयस्थलको स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको नगरप्रमुख विमला राईले बताउनुभयो । “हाम्रो नगरपालिकामा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम लगायत दर्जन बढी धार्मिक तथा पर्यटकीयस्थलहरु छन् । ती सबै धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति एवम् प्रवद्धन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुलाई समेटेर क्युआर कोड विकास गरिरहेका छौँ । यसभित्र धार्मिक तथा पर्यटकीयस्थलहरुको परिचय, महत्व, विशेषता, दूरी लगायतका विषयहरु समेटिनेछन् । यसले बाहिरबाट आउने पर्यटकका लागि यहाँका धार्मिक तथा पर्यटकीयस्थलहरुको बारेमा बुझ्न र घुम्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”
हलेसी तुवाचुङ नगरपालिकाले शुरु गरेको धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नतिसहित पर्यटन प्रवद्र्धनका कामलाई जिल्लामा निक्कै महत्वका साथ हेरिएको छ । नगरपालिकाले शुरु गरेको पर्यटन प्रवद्र्धनका काममा प्रदेश तथा सङ्घीय सरकारलेसमेत लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।