ऐसेलुखर्कमा १६३ वर्ष पुरानो लाखेको मुकुट चित्रण गर्ने लाखेको मूर्ति अनावरण

Halesi Khabar
21 Shares

खोटाङ, ४ भदौ । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा १६३ वर्षअघि निर्माण गरिएको लाखेको मुकुट चित्रण गर्ने लाखेको मूर्ति अनावरण गरिएको छ । वि.सं. १९१८ सालमा घरेलु औजार प्रयोग गरेर बनाइएको लाखेको ऐतिहासिक मुकुटको सम्मान र सम्झनामा सोही मुकुट चित्रण गरेर निर्माण गरिएको लाखेको मूर्ति लाखेजात्राको अवसर पारेर अनावरण गरिएको हो ।

गाउँपालिकाले उपलब्ध गराएको रु १६ लाख अनुदानमा ढलौट प्रयोग गरेर लाखेको मूर्ति निर्माण गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो । स्थानीय कालीगढले गराँसको काठ प्रयोग गरेर निर्माण गरेको लाखेको ऐतिहहासिक मुकुट चित्रण गरेर निर्माण गरिएको लाखेको मूर्ति अनावरण गरिएसँगै त्यस चोकलाई ‘लाखे चोक’ नामाकरण गरिएको छ ।

सबै समुदायको पहिचान झल्काउने प्रतिमूर्ति स्थापना गर्ने गाउँपालिकाको निर्णयअनुसार ऐसेलुखर्क बजारमा नेवार समुदायको लाखेको मूर्ति निर्माण गरेर अनावरण गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले बताउनुभयो । ऐसेलुखर्क बजारमा वि.सं. १९१८ सालदेखि नेवार समुदायको बसोबास रहेको इतिहास छ ।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र ऐसेलुखर्क बजारमा वि.सं. १९३५ साखदेखि लाखेजात्रा मनाउन थालिएको नेवार सामाजिक गुठीका अध्यक्ष ध्रुवराज राजभण्डारीले जानकारी दिनुभयो । ऐसेलुखर्क बजारमा बिगत १४६ वर्षअघिदेखि निरन्तररुपमा लाखेजात्रा मनाउने गरिएको नेवार समुदायले बताएका छन् ।

यसैबीच, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका नेवार समुदायले आज (मङ्गलबार) धुमधामका साथ गाईजात्रा मनाएका छन् । गत साउन–२५ गते (नाग–पञ्चमी)देखि औपचारिकरुपमा लाखेजात्रा मनाउन थालेका दिक्तेल बजारका नेवार समुदायले मङ्गलबार गाईजात्रा मनाएका हुन् ।

गाईजात्रा पर्वलाई नेवार समुदायले मुख्य चाडको रुपमा मनाउने गरेको नेवार मुक्ति मोर्चा खोटाङका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । “यस पर्वमा नेवार समुदायमा दिवङ्गत भएका पितृगणको सम्झनामा गाईको तस्वीरसहितको सापारु निर्माण गरिन्छ । सापारु बोकेर टोलटोल घुमाउँदै मृतकको जीवनी गाउने गरिन्छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यस दिन भजन कीर्तन तथा रामायणसमेत वाचन गर्ने चलन छ । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न शहर तथा ठाउँमा नागपञ्चमीदेखि कृष्णजन्माष्टीसम्म मनाउने गरिएको छ ।”

गाईजात्राको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आज (मङ्गलबार) एक दिन सार्वजनिक बिदासमेत दिएको थियो । नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको प्रमुख चाडको अवसरमा सार्वजनिक बिदा दिने नगरकार्यपालिकाको निर्णयअनुसार नवार समुदायको गाईजात्रामा एक दिन बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

नेवार समुदायको बसोबास रहेको जिल्ला अन्य ठाउँमा पनि लाखेजात्रा मनाउने गरिएको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लाका अधिकांश ठाउँमा बसोबास गर्ने नेवार समुदायले पितृकार्य गर्नुका साथै आपसमा शुभकामना आदानप्रदान गर्दै धुमधामका साथ लाखेजात्रा मनाउने गरेका छन् ।

ऐतिहासिक प्रमाणअनुसार पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई खुशी बनाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली शहर परिक्रमा गराउनु भनी आदेश दिएपछि जालेजात्रा मनाउन थालिएको भन्ने कथन छ । यो अवसरमा विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ ।

 

तपाईको प्रतिक्रिया