खोटाङ, ८ भदौ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र नौँ वर्षीय राज राईको खोलाको दहमा डुबेर मृत्यु भएको छ । विद्यालयबाट घर फर्कनेक्रममा गर्मी छल्न भन्दै पौडी खेल्न स्थानीय चङ्खुखोलाको दहमा पसेका दुई बालकको डुबेर मृत्यु भएको हो ।
खिरुका स्थानीय टङ्कराम राईका छोरा अर्जुन र भोजकुमार राईका छोरा राजको शुक्रबार दिउँसो खोलाको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “घटनास्थल इलाका प्रहरी कार्यालय ऐसेलुखर्कभन्दा निक्कै टाढा पर्छ । घटना भएको जानकारी पाउनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “घटनास्थलमा खटिएका प्रहरीको टोलीले घटनास्थल पुगेर कानूनी प्रकृया पुरा गरेर अनुसन्धान गरिरहेको छ । घटनाको विस्तृत जानकारी अनुसन्धान सकेर टोली फर्किपछि दिन्छौँ ।”
मृतकद्धय अर्जुन र राजको बुबाहरु टङ्कराम र भोजकुमार एकाघरको दाजुभइ रहेको स्थानीय बासिन्दाले बताएका छन् । एकाघरका दुवै दाजभाइको छोराहरु विद्यालय गएको समयमा पौडी खेल्नेक्रममा दहमा डुबेर एकै दिन मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको स्थानीय पुरुषोत्तम राजभण्डारीले जानकारी दिनुभयो ।
राजभण्डारीले टेलिफानेमार्फत दिनुभएको जानकारीअनुसार मृतक अर्जुन सोही स्थानका जनहित आधारभूत विद्यालयको कक्षा–५ मा तथा राज कक्षा–४ मा अध्ययनरत रहेका थिए । घर र विद्यालयको बीचमा पर्ने चङ्खुखोलामा वारपार गर्न झोलुङ्गे पुल छ । तर विद्यालयबाट सँगै घर फर्किरहेका चार विद्यार्थीमध्ये अर्जुन र राज भने ‘गर्मी भयो’ भन्दै पौडी खेल्नका लागि पुलबाट करिब ५० मिटर तल दहमा झरेका थिए ।
विद्यालयबाट सँगै फर्किएका दुई विद्यार्थी भने पुलमै बसेर रमिता हेरिरहेका थिए । पौडी खेल्न पसेका दुईजना साथी डुबेपछि पुलमा बसेर हेरिरहेका विद्यार्थीले गाउँमा खबर पु¥याएको राजभण्डारीले जानकारी दिनुभएको छ ।
चङ्खुखोलामा हिउँदमा सानो भए पनि वर्षामा ठूलो पानी बहने गरेकाले स्थानीय बासिन्दाले हिउँदको समयमा गाईवस्तुलाई पानी खुवाउन दह बनाएका थिए । मानव निर्मित दहमा अहिले वर्षाको पानीले खोलाको सतहसँगै बढेको दहमा पौडी खेल्न पस्दा दुई छात्रले अकालमा ज्यान गुमाएका हुन् ।
सँगै विद्यालयबाट फर्किएका दुई विद्यार्थीले खबर गरेपछि आफन्त तथा स्थानीय बासिन्दाले दहमा डुबिरहेको अवस्थामा दुई बालकको शव निकालेको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएका प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरेर मृतकद्धयको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क लैजाने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।