मध्यपहाडी लोकमार्गमा पहिरो : दिक्तेल–हलेसी सडक नौँ घण्टादेखि अवरुद्ध

Halesi Khabar
21 Shares

खोटाङ, ११ भदौ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डमा झरेको पहिरोले नौँ घण्टादेखि यातायात सेवा अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेर आज (मङ्गलबार) बिहान करिब ३ः०० बजेको समयमा पहिरो जाँदा दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउन तीनवटा जेसिबीले दुवैतर्फबाट निरन्तर पहिरो पन्छाउने काम गरिरहेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ । पहिरो हटाउन बिहानैदेखि लागि परेका छौँ”, उहाँले भन्नुभयो, “पूर्णरुपमा सडक सञ्चालन गर्न अझै चार÷पाँच घण्टा समय लाग्ने अनुमान गरिएको छ ।”

पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ लगायत पूर्वी तराईका शहर जाने तथा जिल्ला फर्कने यात्रु उताको उतै र यताको यतै रोकिएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुसमेत अवरुद्ध सडक खुलाउन लागीपरेका छन् ।

सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध दिक्तेल–हलेसी सडक सञ्चालनका लागि प्रयोग गरिएका जेसिबी अझै देखिने ठाउँमा पुग्न बाँकी रहेको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “करिब १५० मिटरमाथि पर्ने किरात ऐतिहासिकस्थल तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख तथा ढुङ्गाहरु सडकमा थुप्रिएका छन् । मेसिन प्रयोग गरेर हटाउने प्रयास गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले पनि पहिरो झरिरहेको छ । तल्कालका लागि पहिरोमाथिबाटै सडक खुलाउनेगरी काम गरिरहेका छौँ ।”

पहिरो गएको स्थानमा यसअघिका वर्षहरुमा पनि पटकपटक पहिरो जाने गरेको थियो । भिरालो ठाउँ रहेको उक्त क्षेत्रमा कमेरे माटो भएकाले निरन्तर पहिरो जानेको गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया