वर्षेनी पहिरो जानेक्रम नरोकिएपछि चेकेथुमका स्थानीय त्रासमा बस्न बाध्य

Halesi Khabar
21 Shares

खोटाङ, १३ भदौ । बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुमका स्थानीय बासिन्दा पहिरोको उच्च जोखिममा परेका छन् । गाउँभन्दा करिब एक किलोटिर तल पर्ने मस्टपुखोलाबाट वि.सं. २०५६ सालमा शुरु भएको पहिरो वर्षेनी माथिल्लो भेगमा सर्दै निस्किएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन् ।

पच्चीस वर्षअघि शुरु भएको पहिरो निरन्त माथिल्लो भेगमा सर्दै निस्किएपछि त्यसभन्दामाथि पर्ने चेकेथुमका गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा दिनरात त्रासमा बस्नुपर्ने बाध्यतामा परेको सुन्तलेका वडाध्यक्ष पदम मगरले जानकारी दिनुभयो । “चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो चल्ने गरेको छ । पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोबास छ”, उहाँले भन्नुभयो, “पहिरो निरन्तर सर्दै गाउँतर्फ आएपछि यस वर्ष स्थानीय खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा परिसकेको छ । यही क्रम नरोकिने हो भने पुरै गाउँ पहिरोमा बग्ने खतरा बढ्दै गएको छ । यसप्रति सम्बनिधत निकायको ध्यान जान जरुरी छ ।”

हिउँद्वर्षा निरन्तर पानी बगिरहने मस्टपुखोलाबाट शुरु भएको पहिरो क्रमशः गाउँतिर निस्केपछि वि.सं. २०७२ सालमा चेकेथुमको तल्लो भेगमा बसोबास गर्ने २८ घर स्थानीय बासिन्दा विस्थापित भएका थिए । पहिरोबाट विस्थापित भएकामध्ये स्थानीय दण्डबहादुर तामाङ र डम्बरबहादुर तामाङ छिमेकी जिल्ला उदयपुरको राजाबास भन्ने ठाउँमा बसाइँ सरिसक्नुभएको छ ।

पहिरोबाट विस्थापित भएका २८ घरमध्ये २६ घरका स्थानीय बासिन्दा आसपासका स्थानीयको जग्गा खरिद गरेर तथा आफ्नै सुरक्षित जग्गामा घर बनाएर सरेका छन् । भिरालो जमिन रहेको चेकेथुममा वर्षाको पानीले धाँजा फाट्ने र घाम लागेपछि क्रमशः पहिरोकोरुपमा खस्ने क्रम नरोकिँदा तल्लो क्षेत्रमा पर्ने सयौँ रोपनी खेतीयोग्य जमिन बगिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

वर्षेनी निरन्तर गइरहने पहिरो माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका सिङ्गो गाउँ तथा एउटा सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा पर्दै गएको स्थानीय आशिष बञ्जरा बताउनुभयो । “निरन्तर झरिरहने पहिरोको आकार करिब ५०० मिटर फराकिलो छ । पहिरोले बस्तीसँगै जनचेतना आधारभूत विद्यालयसमेत जोखिममा पर्दै गएको छ”, उहाँले भन्नुभयो, “पहिरो वर्षेनी माथिल्लो भेगमा रहेको गाउँतर्फ निस्कँदै गएपछि तल्लो भेगका रहेका बस्ती पनि माथिमाथि सर्दै गएको छ । लामो समयअघिदेखि शुरु भएको पहिरो नरोकिँदा घर सार्नुपर्ने बाध्यताले स्थानीय बासिन्दा हैरानीमा परेका छन् ।”

वर्षाद्को समयमा केही नहुने पहिरो वर्षा रोकिएर घामले जमिन तातिन थालेपछि फाट्दै गएर ठूलो पहिरोको रुपमा खस्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । सिमसार र कमेरे माटो भएको जमिनलाई वर्षाको समयमा खोलामा आएको भलले कटान गरिरहने भएका कारण चेकेथुममा पहिरो नरोकिएको स्थानीय बासिन्दाको ठम्याइ छ ।

लामो समयदेखि निरन्तर झरिरहने पहिरो रोकथाम गर्न सकिने सम्भावनासमेत नरहेको वडाध्यक्ष मगरले जानकारी दिनुभएको छ । वडाध्यक्ष मगरका अनुसार सिमसार र कमेरे माटो भएको ठाउँबाट पहिरो गएकाले नियन्त्रण गर्न सम्भव नभएको हो ।

पहिरोबाट विस्थापित चेकेथुमका स्थानीय बासिन्दाले आफूहरु विस्थापित भएको लामो समय बितिसक्दा पनि राज्यकोतर्फबाट अहिलेसम्म क्षतिपूर्तिवापत केही पनि नपाएको गुनासोसमेत गरेका छन् । पहिरोका कारण विस्थापित अधिकांश घरपरिवारहरु आफैले ऋणपान गरेर खरिद गरेको जग्गामा बनाएको घरमा बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया