खोटाङ, १३ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘हेर्ने कथा’मा देखिनुभएका भोजपुरका प्रकाश तामाङलाई कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउनुहुँदै तामाङलाई सरकारले सहयोग गर्ने बताउनुभएको हो ।
कोशी प्रदेशभित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । सङ्घीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उहाँलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
“शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।”
पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा तामाङलाई भेटेपछि ३५ वर्षपछि परिवारसँग पुनःमिलन भएको थियो । परिवारसँग सम्पर्कविहीन भएका प्रकाशको पुनः मिलनको कथा हेर्ने कथा युट्युब च्यानलमा हराएको वर्ष शीर्षकमा राखिएको छ ।