अखिल (क्रान्तिकारी) खोटाङले ग¥यो दिक्तेलबजारको फोहर सरसफाइ

Halesi Khabar
28 Shares

खोटाङ, १४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले दिक्तेलबजारको सडक सरसफाइ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) खोटाङले १९ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा आज (शुक्रबार) दिक्तेल बुहुमुखी क्याम्पसदेखि हाटडाँडासम्मको सडक आसपासका स्थानीय बासिन्दाले जथाभावी फालेका फोहर सरसफाइ गरेको हो ।

सरसफाइ कार्यक्रममा जम्मा गरिएका फोहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको फोहर व्यवस्थापन केन्द्रमा लगेर बिसर्जन गरिने आयोजक अखिल (क्रान्तिकारी) खोटाङका जिल्ला संयोजक डार्विन चाम्लिङले जानकारी दिनुभयो । दिक्तेल बहुमुखी क्याम्पस इकाइ समितिसँगको सहकार्यमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा ३० बोरा फोहर सङ्कलन गरिएको आयोजकले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलाई सफा र सुन्दर बनाउन १९ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा सचेतनामूलक कार्यक्रमसहित सरसफाइ गरिएको क्याम्पस इकाइ समिति अध्यक्ष ललिजन राईले जानकारी दिनुभयो । सरसफाइ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य एवम् अखिल (क्रान्तिकारी) फ्र्याक्शन इन्चार्ज गोपालचन्द्र राई, जिल्ला सचिव जीवन राई ‘सँगीन’, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव रविन खम्बु, योङ कम्युनिष्ट लिग (वाईसियल) नेपालका जिल्ला सचिव प्रभाव राई लगायतको सहभागिता थियो ।

अखिल (क्रान्तिकारी)को १९ औँ जिल्ला सम्मेलन भोलि र पर्सि (भदौ–१५ र १६ गते) दिक्तेलबजारमा सञ्चालन हुँदै छ । दुई दिनसम्म चल्ने जिल्ला सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षकगरी ५२६ जना विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ ।

जिल्लाका दश स्थानीय तह, छवटा क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठित अखिल (क्रान्तिकारी)को सङ्गठनबाट चयन भएका प्रतिनिधि तथा पर्यवेक्षक सम्मेलनमा सहभागी हुने जनाइएको छ । ‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, बिकृति, बिसङ्गति र बेथितिकाविरुद्ध १९ औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनको उद्घाटन अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले गर्नुहुने जिल्ला संयोजक चाम्लिङले जानकारी दिनुभयो ।

दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हलमा आयोजना गरिएको १९ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय सदस्य एवम् सम्मेलन मूल आयोजक समितिका प्रचार बिभाग प्रमुख एलबी मगरले जानकारी दिनुभयो । जिल्ला सम्मेलनका बारेमा आज (शुक्रबार) दिउँसो) ३ः०० बजे दिक्तेलमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने तयारी गरिएको आयोजकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया