चार साहित्यिक स्रष्टा तथा एक वरिष्ठ पत्रकार सम्मानित

Halesi Khabar
35 Shares

खोटाङ, १५ भदौ । पालिका अभिलेख प्रा.लि. काठमाडौँ र शुभम् फाउण्डेशन खोटाङले जिल्लाका पाँचजना अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेको छ । अग्रज साहित्यकारहरु विष्णु आभूषण, नरेन्द्र निर्भिकार, एमसी सुमित र रेखा राई ‘क्षितिज’ तथा वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।

नेपाली साहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदानको कदरस्वरुप जिल्लाका चारजना साहित्यिक स्रष्टा तथा पत्रकारिताको क्षेत्रबाट समाज रुपान्तरणमा गर्नुभएको योगदानको कदरस्वरुप एकजना अग्रज पत्रकारलाई दोसल्ला ओढाएर सम्मान गरिएको आयोजक शुभम् फाउण्डेशनका प्रबन्ध÷निर्देशक सूर्यबहादुर राईले जानकारी दिनुभयो । सम्मानित व्यक्तित्वहरुलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेशनको सभा हलमा आयोजित कार्यक्रममा डा. पुरण राईद्धारा लिखित उपन्यास ‘वसन्त रितु’ तथा नाटक सङ्ग्रह ‘लासमाथिको मानवता’को विषयमा चर्चासमेत गरिएको छ । उपन्यास बसन्त ऋतुको विषयमा साहित्यकार बेदीकुमार राई र नाटक सङ्ग्रह लासमाथिको मानवताको विषयमा एमसी सुमितले चर्चा गर्नुभएको हो ।

साहित्य सर्जक डा. राईले वि.सं. २०८० सालमा उपन्यास बसन्त ऋतु र नाटक सङ्ग्रह लासमाथिको मानवता कृति प्रकाशनमा ल्याउनुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा जन्मनुभएका सर्जक डा. राईको वि.सं. २०६१ सालमा ‘मेरो देशको भूगोल’ कविता सङ्ग्रह, वि.सं. २०८० सालमा ‘कोभिडका डायरी’, कथा सङ्ग्रह ‘अस्तु’ लगायत कृतिहरु बजारमा आइसकेका छन् ।

जिल्लास्थित जनप्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रममा पालिका अभिलेख डटकम नामक न्यूज पोर्टलसमेत सार्वजनिक गरिएको छ । इन्फो पालिका प्रा.लि.को मातहतमा रहनेगरी सञ्चालनमा ल्याइएको न्यूज पोर्टलको प्रकाशक÷सम्पादक डा. राई स्वयम् रहनुभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया