खोटाङ, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन हुनुभएको छ । दिक्तेलस्थित शुभम् फाउण्डेशनमा गएराति सम्पन्न अखिल (क्रान्तिकारी) खोटाङको १९ औँ जिल्ला सम्मेलनबाट चाम्लिङ ३३ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।
शपथ ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष रेग्मीले अखिल (क्रान्तिकारी) अन्य सङ्गठनभन्दा फरक र विशिष्ट भएको दाबी गर्नुभयो । “पछिल्लो समय शैक्षिक क्षेत्रमा भएका परिवर्तन अखिल (क्रान्तिकारी)को देन हो । यसलाई थप परिस्कृत र व्यवहारिक बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “अझै पनि देशमा दुई खाले शिक्षा लागू भइरहेका छन् । यसलाई एउटै बनाउन आवश्यक छ । देशमा एउटै खाले शिक्षा कार्यान्वयन गराउन अखिल (क्रान्तिकारी) एकजुट भएर अगाडि बढ्नुपर्छ ।”
सम्मेलनबाट निर्वाचित कार्यसमितिलाई पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बधाई दिनुहुँदै आफ्नो हक, अधिकारी तथा शैक्षिक सुधकारका निमित्त डटेर लाग्न आग्रह गर्नुभयो । “देशको भाग्य र भविष्य निर्माण गर्ने जिम्मेवारी विद्यार्थीको हातमा छ । देशमा भएका हरेक उपलब्धिहरु विद्यार्थी आन्दोलनबाट स्थापित भएका हुन्”, उहाँले भन्नुभयो, “देशमा प्राप्त उपलब्धि खतरामा पर्दै गएको छ । प्राप्त उपलब्धि रक्षा गर्नका लागि पनि विद्यार्थीको ठूलो भूमिका आवश्यक छ । यससँगै आफ्नो अध्ययन कार्यलाई पनि निरन्तरता दिन भुल्नु हुँदैन ।”
अखिल (क्रान्तिकारी) खोटाङको १९ औँ जिल्ला सम्मेलनको बन्दसत्रले सङ्गठनको आर्थिक तथा साङ्गठानिक प्रतिवेदन र भावी रणनीतिसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज (आइतबार) बसेर अखिल (क्रान्तिकारी)को १९ औँ जिल्ला सम्मेलनले पारित गरेका भावी कार्ययोजनाहरु सार्वजनिक गर्ने तयारी गरिएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो ।
‘समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो आन्दोलन, बिकृति, बिसङ्गति र बेथितिकाविरुद्ध १९ औँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उद्घाटन भएको सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला इन्चार्ज ध्रुव बुढाथोकी ‘धिरेन’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, प्रदेश सदस्य एवम् विद्यार्थी फ्र्याक्शन इन्चार्ज गोपालचन्द्र राई, सदस्य सुरशेकुमार राई, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव रविन खम्बु, सदस्य एलबी मगर, जिल्लास्थित सबै विद्यार्थी सङ्गठनका नेताहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी विद्यार्थी नेता वक्ताहरुले शैक्षिक क्षेत्रमा भएका वर्तमान उपलब्धिमा आखिल (क्रान्तिकारी)को महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा व्यक्त गरेका छन् ।
सम्मेलनमा जिल्लाका दशवटै स्थानीय तह, छवटा क्याम्पस र ९६ वटा माध्यमिक विद्यालयमा गठित अखिल (क्रान्तिकारी)को सङ्गठनबाट चयन भएका प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सम्मेलनको अवसर पारेर अखिल (क्रान्तिकारी) खोटाङले शनिबार दिक्तेलबजार सरसफाइसमेत गरेका थिए ।