खोटाङ, १६ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले बलात्कार आरोपमा पक्राउ परेका दुई तथा बैङ्किङ कसुर आरोपमा पक्राउ परेका एकजनालाई सार्वजनिक गरेको छ । चौध वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ३१ वर्षीय सम्भुधन राई र ७४ वर्षीया वृद्धालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परेका ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ४१ वर्षीय नवीन राई तथा बैङ्किङ कसुर आरोपमा पक्राउ परेका धनुषा जिल्लाको सबैला नगरपालिका–७ सबैला निवासी सतेन्द्र नायकलाई प्रहरीले आज (आइतबार) विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।
सम्भुधन, नवीन र सतेन्द्रलाई यही भदौ–१४ गते पक्राउ गरेर कानूनी कारबाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । सम्भुधनले १४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती बलात्कार गर्दै आएकामा अन्तिम पटक वि.सं. २०८० फागुन–८ गते बिहान ९ः०० बजे जबरजस्ती बलात्कार गरेको भन्दै यही भदौ–१४ गते आफन्तले दिएको जाहरीको आधारमा सोही दिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नवीनले यही भदौ–१० गते ७४ वर्षीया वृद्धालाई जबरजस्ती बलात्कार गरेको भन्दै भदौ–१४ गते आफन्तले दिएको जाहेरीको आधारमा सोही दिन पक्राउ गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो । यस्तै, बैङिकङ कसुर मुद्दाका आरोपित सतेन्द्रलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरी टोलीले धनुषा प्रहरीको सहयोगमा जनकपुरधाम उपमहानगरपालिका–२ जनकपुरस्थित नायक कन्ट्रक्सन प्रा.लि.को कार्यालयबाट यही भदौ–१४ गते पक्राउ गरेको जनाइएको छ ।
ठेक्कापट्टाको काम गर्दै आएका आरोपित सतेन्द्रलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नवराज रिजालको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिक्तेल–दुम्ली सडक ढलानको जिम्मा लिएका सतेन्द्रले नवराजबाट रु तीन लाखको निर्माण सामग्री लिएर चेक दिएसँगै बैङ्कमा रकम झिक्न जाँदा प्रयाप्त रकम नभएपछि नवराजले चेक बाउन्स गराएर मुद्दा दर्ता गर्नुभएको थियो ।
सतेन्द्रविरुद्ध नवराजले वि.सं. २०८१ साउन–२२ गते बैङ्किङ कसुरमा जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दर्ता गराउनुभएको प्रहरीले जनाएको छ । मुद्दा दर्ता भएको २६ दिनपछि पक्राउ परेका सतेन्द्रलाई प्रहरीले भदौ–१४ गते पक्राउ गरेर हड्डासार गर्दै भदौ–१५ गते (हिजो) जिल्ला प्रहरी कार्यालय खोटाङमा दाखिला गराएको हो ।
पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि आइतबार जिल्ला अदालत खोटाङमा हाजिर गराएर अदालतबाट पाँच÷पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । उनीहरु तीनैजनालाई प्रहरी हिरासतमा राखेर कानूनी कारबाही शुरु गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले गत वर्ष फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको थियो । वि.सं. २०८० साउन–१ गतेदेखि वि.सं. २०८१ असार मसान्तभित्र विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका १२४ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।