खोटाङ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) खोटाङले आज (मङ्गलबार) दिक्तेलमा तिज विशेष कार्यक्रम आयोजना गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगर समितिसँगको सहकार्यमा जिल्ला कार्यसमितिले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर शुभकामना आदानप्रदान गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
दिक्तेलमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय जिल्लामा हुने तिज विशेष कार्यक्रमहरु भड्किलो भएको भन्दै आगामी दिनमा न्यूनीकरण गर्नुपर्ने बताएका छन् । तिज आउनुभन्दा महिना दिन पहिलेदेखि दर खाने, गरगहना तथा महङ्गा लुगाफाटा प्रदर्शन गर्ने लगायतका बिकृति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् खोटाङ जिल्ला इन्चार्ज ध्रुब बुढाथोकी ‘धिरेन’ले समाजमा बिकृतिका रुपमा विकास हुँदै गएको प्रतिस्पर्धालाई अनेम सङ्घ (क्रान्तिकारी)ले नियन्त्रण गनुपर्ने बताउनुभयो । “हामी माओवादीहरु अरुभन्दा फरक छौँ । बिकृति, बिसङ्गति तथा असमानताका निम्ति लड्दै आयौँ । केही हदसम्म सुधार भएको छ”, उहाँले भन्नुभयो, “हामीले सबै जातजाति, धर्म तथा सँस्कार÷सँस्कृतिको सम्मान हुनुपर्छ भनेका छौँ । हाम्रो देश नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनेर संविधानमा नै उल्लेख गराउन सफल भएका छौँ । तर, पछिल्लो समय हिन्दु नारीहरुको तिज भड्किलो बन्दै गउको छ । यसलाई नियन्त्रण गर्न अनेम सङ्घ (क्रान्तिकारी)ले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।”
कार्यक्रमलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै अनेम सङ्घ (क्रान्तिकारी)का प्रदेश समितिका सहसचिव सुवती राईले राम्रा सँस्कार÷सँस्कृतिको संरक्षण गर्नुका साथै नराम्रा बिकृतिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । “वर्त बस्दा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । आफू स्वस्थ भएमा मात्र परिवारको ख्याल राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “तिजमा विशेष गरेर विवाहित महिलाले श्रीमानको दीर्घायुको कामना गर्दै निराहार वर्त बस्ने चलन छ । भोको बस्दैमा श्रीमानको दीर्घायु हुन्छ भन्ने के ग्यारेन्टी छ ? हामी अनेम सङ्घ (क्रान्तिकारी)हरु भौतिकवादी हौँ । प्रथाको कुरा होइन । हामीले यथार्थतामा विश्वास गर्नुपर्छ । आगामी दिनमा पुरुषवादी परम्परालाई त्याग्दै अगाडि बढ्नुपर्छ ।”
सबै जातजातिका मानिस एउटै हौँ र सबै जातजातिको सँस्कार÷सँस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न अनेम सङ्घ (क्रान्तिकारी) खोटाङले तिज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष धनशोभा राईले बताउनुभयो । “हरितालिका तिज विशेषगरी हिन्दु महिलाहरुको प्रमुख चाड हो । हामीले सबै जातजातिको सँस्कार÷सँस्कृतिलाई सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अनेम सङ्घ (क्रान्तिकारी)ले आयोजना गरेको तिज विेशष कार्यक्रममा सबै धर्मावलम्बी महिलाहरु सहभागी हुनुहुन्थ्यो । यसले हामीबीच आपसी सद्भाव कायम भएको छ ।”
दिक्तेलस्थित भवन गैरामा रहेको ‘शहीद दिकाजी–ठूलकुमार स्मृति भवन’ दिक्तेलमा आयोजित कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य उजुर राई, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामति) खोटाङका अध्यक्ष चित्रकुमार सुवेदी, अखिल (क्रान्तिकारी) खोटाङका अध्यक्ष डार्विन चाम्लिङ, योङ कम्युनिष्ट लिग (वाईसियल) नगर समिति अध्यक्ष भूपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वडाध्यक्ष भगेश्वर राई लगायतले सम्बोधन गर्नुभएको थियो । औपचारिक कार्यक्रम समापनपछि ‘उठ चेली हो, कम्मर कस चेली हो, अधिकार लिनलाई जुट चेली हो’ बोलको तिज गीत बजाउँदै सामुहिकरुपमा नाचगान गरिएको थियो ।