खोटाङ, २२ भदौ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्धार तथा रक गार्डेन (ढुङ्गे बगैँचा) जाने कच्ची सडक ढलानको काम शुरु गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालयको भ्याटसहित रु आठ करोड ३९ लाख ५१ हजार ४७४ लगानीमा सम्पन्न गर्नेगरी चन्द्र ज्योति कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले सडक ढलान गर्ने कामको जिम्मा लिएको हो ।
वि.सं. २०८१ जेठ–२९ गते सम्झौता गरिएको दुवै सडक ढलानको काम आगामी वि.सं. २०८२ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण शुरु गरिएको छ । दुवै सडक शुक्रबार पूर्व शहरी विकासमन्त्री एवम् प्रतिनिधिसभा सदस्य सीता गुरुङले औपचारिकरुपमा शिलान्यास गर्नुभएको छ ।
सडक ढलान योजना शिलान्यास गर्नुहुँदै पूर्वमन्त्री गुरुङले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल एवम् पर्यटकीयस्थल हलेसी अब थप व्यवस्थित हुने बताउनुभयो । गुरुङ मन्त्री हुँदा गत आर्थिक वर्ष २०८०÷०८१ मा उक्त दुवै सडक ढलान योजनाका लागि शहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको थियो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले यस वर्ष कार्यान्वयनमा ल्याइएको सडक ढलानको योजनाले हलेसीको मुहार फेर्न ठूलो टेवा पुग्ने बताउनुभयो । शिलान्यास कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका जिल्ला अध्यक्ष ललितकुमार राई ‘जीवन’ लगायतले सम्बोधन गर्नुभएको थियो ।
वर्ष दिनभित्र सम्पन्न गर्नेगरी शुरु गरिएको उक्त योजना अन्तरगत हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्धारसम्मको सडक ढलान तथा पार्किङस्थल निर्माण गरिने जनाइएको छ । यस्तै, रक गार्डेन जाने करिब एक हजार २०० मिटर सडक ढलान पनि सोही बजेटबाट गरिने जनाइएको छ ।
सडक ढलान योजना सम्पन्न भएपश्चात हलेसी मन्दिर परिसर हिलो र धुलोमुक्त हुने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईको बताउनुभयो । “त्रिधार्मिकस्थल हलेसीमा दैनिक देश÷विदेशबाट दर्शन एवम् भ्रमण गर्न पर्यटकहरु आउने गरेका छन् । मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा पर्यटकहरुका लागि असहज भइरहेको छ”, उहाँले भन्नुभयो, “हलेसी नजिकै रहेको पर्यटकीयस्थल रक गार्डेन जाने सडकसमेत सोही योजना अन्तरगत ढलान हुँदै छ । हलेसीमा पार्किङको समेत समस्या छ । आगामी वर्षबाट त्यो सबै समस्या हल हुन्छ ।”
हलेसी मन्दिर प्रवेशद्धारको सडक ढलानसँगै त्यसमाथि आकर्षक ढुङ्गा बिच्छ्याइने सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियर गणेश पाण्डेले बताउनुभयो । प्रवेशद्धार नजिकै निर्माण गरिने पार्किङस्थलमा तीन प्रकारका सवारी साधन छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइने जनाइएको छ ।
धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा यसअघि निर्माण गरिएको हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको छ । कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार ४९० लगानीमा निर्माण गरिएका दुई हवन कुण्ड गत साउन–२१ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।
त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माणको कामसमेत भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा रहेको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगसँगै मन्दिर व्यवस्थापन समितिसमेत सक्रियरुपमा लागिपरेको छ ।
हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाखा)समेत निर्माण गरिएको छ । नेपाल आयल निगमबाट प्राप्त रु दुई करोड तथा नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरेर अतिथिगृहको भौतिक संरचना निर्माण गरिएको हो ।