खोटाङ, २३ भदौ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार ८९७ घरधुरी उपभोक्तालाई दूधकोशी पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि शुरु गरिएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अहिले अलपत्र अवस्थामा छ । नेपाल सरकारको करिब रु ९६ करोड ४५ लाख चार हजार १३८ लागतमा सम्पन्न गर्ने गरी वि.सं. २०७४ सालबाट निर्माणको काम शुरु गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।
एक नम्बर प्याकेज अन्तरगत वडा नं.–८ सल्लेको महादेवबँेसीबाट वडा नं.–७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेज अन्तरगत सोही नगरपालिकाको वडा नं.–१ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले वि.सं. २०७६ मङ्सिरमा सक्ने गरी वि.सं. २०७४ असार–२१ गते सम्झौता गरेको थियो । तर, दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटक–पटक म्याद थप्दै काम नगरेपछि अलपत्र परेको हो ।
खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण स्थानीय बासिन्दाले दुःख पाउनुका साथै राज्यलेसमेत ठूलो आर्थिक भार ब्यहोर्नु परेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले आरोप लगाउनुभयो । “ठेकेदार कम्पनीले चार पटक म्याद थप गराइसकेको छ । ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि निर्माणको काम ठप्प छ”, उहाँले भन्नुभयो, “चार वर्षअघि नै सम्पन्न हुनुपर्ने आयोजनाको काम अहिले अलपत्र अवस्थामा छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
‘
महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपसमेत अलपत्र अवस्थामा छ । यसमध्ये एक नम्बर प्याकेजको मेनलाइनको काम अन्तरगत पानी तान्ने छवटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ ।
आयोजना अन्तरगत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी रहेको छ । उक्त आयोजना अन्तरगत करिब १०० घरधुरीलाई पानी वितरण गरिसकेको र करिब ३०० घरधुरीलाई पानी वितरण गर्न बाँकी छ ।
दुवै प्याकेजको काममा ८५ प्रतिशत आर्थिक प्रगति देखिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङले जनाएको छ । शाखा लाइन विस्तारको काम ठेक्का लिएका निर्माण कम्पनीको काम पनि अलपत्र छ ।
लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नम्बर १, २, ३ का दुई हजार ४०९ घरधुरीलाई वितरण गर्ने कामको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । तर, उक्त निर्माण कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन ।
भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं. २ डिकुवाका स्थानीय उपभोक्ता सुदिप अधिकारीले बताउनुभयो । “भुम्जुडाँडामा निकालिएको पानी एक हजार ३०० घरमा पुगेको थियो । गत असोज–२३ गते परीक्षण गरिएको पानी माघदेखि नियमित आउथ्यो । तर, तीन महिनादेखि बन्द भएको छ”, उहाँले भन्नुभयो, “आफ्नो गाउँमा सञ्चालित आयोजना भनेर निःशुल्क जग्गासमेत उपलब्ध गराइयो । अहिले आयोजनाको काम नै अलपत्र परेको छ । यसमा ठेकेदार, निर्माण उपभोक्ता समिति र आयोजनाको कार्यालय तीनैवटाको हेलचेक्र्याइँ देखिएको छ ।”
लामा कन्स्ट्रक्सनले रु रु ३७ करोड ९३ लाखको लागतमा वि. सं. २०७७ साउन–१ गते सक्ने गरी वि.सं. २०७५ साउन–१ गते सम्झौता गरेको थियो । उक्त निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीन वटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने ठेक्का लिएको आयोजनाको कार्यालयसँग गरिएको सम्झौतामा उल्लेख छ ।
त्यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं. ५, ६ र ७ का दुई हजार ४८८ घरधुरीलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो । करिब रु २६ करोड ७५ लाख ५१ हजारको लागतमा वि.सं. २०७७ साउन–१ गते सक्ने गरी वि.सं. २०७५ साउन–१ गते सम्झौता गरेको थियो ।
आयोजनाको कार्यालयसँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्याङ्की, डिसी÷डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो । तर, उक्त निर्माण कम्पनीले अन्तिम चरण आएर काम छाडेकाले अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् ।
पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि घरघरमा खानेपानीको धारा आउने आशामा बसेका स्थानीय उपभोक्ता निरास बनेका छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दा ढिलै भए पनि दूधकोशीको पानी पम्पिङ गरेर पाइप लाइनमार्फत घरघरमा वितरण गर्नेगरी पम्पिङ खानेपानी आयोजनाको काम शुरु हुँदा हर्षित बनेका थिए ।
आयोजनाको कार्यालयले ठेकेदार कम्पनीको भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिनुभयो । “धेरै काम सम्पन्न भइसकेको छ । तर, आयोजनाको कार्यालयले भुक्तानी दिन सकेको छैन”, उहाँले भन्नभयो, “सम्पन्न भएको कामको भुक्तानी पाउनासाथ ठेकेदारहरु काममा फर्किन्छन् । यसप्रति आयोजनाको कार्यालयले ध्यान दिन जरुरी छ ।”
आयोजनाका लागि थप बजेटको व्यवस्था नहुँदा ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका आयोजना प्रमुख इन्जिनियर विपुलकुमार लाल दासले जानकारी दिनुभयो । “निर्माणाधीन पम्पिङ खानेपानी आयोजनाको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्ने प्रयास गरिरहेका छौँ । अहिले वर्षाद्को समय भएकाले पनि काम रोकिएको छ”, उहाँले भन्नुभयो, “दशैँअघि मेनलाइनको काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ । नयाँ आर्थिक अख्तियारी पनि आएको छ । अब तीव्रगतिमा काम हुन्छ ।”
वर्षाद्को समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँद्को समयमा घण्टौँ लगाएर दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन् । कतिपय स्थानीय बासिन्दाले ट्याक्टर तथा ट्रकमार्फत ड्रममा भरेर दूधकोशीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन् ।