खोटाङ, २४ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडामा करिब रु छ करोड लगानीको ‘खोटाङ फ्युल सेन्टर’ सञ्चालनमा ल्याइएको छ । नेपाल आयल निगमको आधिकारिक बिक्रेताका रुपमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ सोमबारदेखि चौबीसै घण्टा खुला रहनेगरी सञ्चालन ल्याइएको हो ।
स्थानीय केशव थापा, रामेश्वर बराल र सरोज श्रेष्ठको संयुक्त लगानीमा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले ब्यानर वाचन गर्नुका साथै पानसमा बत्ती बालेर तथा रिबन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभयो । करिब पाँच वर्ष लगाएर स्थापना गरिएको फ्युल सेन्टरको औपचारिक उद्घाटन गरिएलगत्तै नियमित सेवासमेत प्रवाह गरिएको सञ्चालक सञ्जिव थापाले जानकारी दिनुभएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उपप्रमुख राईले तीन युवा व्यवसायीले सञ्चालनमा ल्याएको फ्युल सेन्टरले जिल्लाको समग्र विकासमा एउटा इँटा थपिएको उल्लेख गर्नुभयो । “पछिल्लो समय धेरै युवा रोजगारीको खोजिमा विदेशिने गरेका छन् । उहाँहरु तीनजना युवाले आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्यले लगानी गर्नुभएको छ । यसमा नगरको तर्फबाट गर्नुपर्ने सहयोग सदैब उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो, “ईन्धन अभावको बहानामा जिल्लामा सञ्चालित अधिकांश विकासे योजनाका काम रोकिएका छन् । अब जिल्लामै सस्तो मूल्यमा प्रयाप्त पेट्रोलियम पदार्थ पाइने भएपछि विकास निर्माणका कामले पनि गति लिन्छ भन्नेमा विश्वस्त बनेका छौँ ।”
औपचारिक रुपमा सञ्चालन गरिएको फ्युल सेन्टरमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ ४० पैसा तथा डिजेल प्रतिलिटर १५९ रुपैयाँ ३० पैसामा बिक्री÷वितरण शुरु गरिएको छ । पाँच वर्षअघि (वि.सं. २०७६ जेठ–२८ गते) नेपाल आयल निगमबाट स्वीकृति लिएर स्थापना गरिएको फ्युल सेन्टरले पेट्रोल र डिजेल दुवैमा चार÷चारवटा नुजल जडान गरेर एउटै समयमा चारवटा सवारी साधनमा पेट्रोलियम पदार्थ वितरण शुरु गरेको हो ।
फ्युल सेन्टर स्थापनाका लागि जग्गा खरिदमा रु दुई करोड, घडेरी सम्याउन तथा पर्खाल निर्माणमा रु एक करोड, ट्रस निर्माणमा रु एक करोड, ट्याङ्की निर्माणमा रु २५ लाख, मेसिन खरिदमा रु ३० लाख, घर निर्माणमा रु ३५ लाख तथा अन्य संरचना निर्माणमा रु ९० लाख खर्च भएको लगानीकर्ता केशव थापाले जानकारी दिनुभयो । “जिल्लामा चौबीसै घण्टा पेट्रोलियम पदार्थ अभाव हुन नदिनेगरी २०÷२० हजार लिटर क्षमताको तीनवटा ट्याङ्की राखेर फ्युल सेन्टर सञ्चालन गरिएको छ । जसमध्ये दुईवटा ट्याङ्कीमा डिजेल र एउटामा पेट्रोल भण्डारण गरेका छौँ”, उहाँले भन्नुभयो, “सेवाग्राहीको सुविधाका लागि नगदसँगै विद्युतीय कारोबारको सेवासमेत उपलब्ध गराएका छौँ । केही समयपछि एटिएम सेवासमेत उपलब्ध गराउने योजना छ ।”
पाँच रोपनी जग्गामा स्थापना गरिएको फ्युल सेन्टरमा महिला, पुरुष तथा फरक क्षमता भएका व्यक्तिका लागि छुट्टाछुट्टै सौचालय, कफिसप, एयर हाउस, ग्यारेज लगायतका संरचना निर्माण गरिएको छ । रमितेडाँडामा स्थापना गरिएको ‘खोटाङ फ्युल सेन्टर’मा अत्याधुनिक उपकरण जडान गरेर नमूना फ्युल सेन्टरको रुपमा सञ्चालन गरिएको अर्का लगानीकर्ता रामेश्वर बरालले जानकारी दिनुभएको छ ।
फ्युल सेन्टर उद्घाटन कार्यक्रमका वक्ताहरुले पेट्रोलियम पदार्थका सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहमा ध्यान दिन लगानीकर्ताहरुलाई सझाव दिएका छन् । उनीहरुले जिल्लामा अत्यावश्यक पर्ने पे«ोलियम पदार्थका लागि फ्युल सेन्टर स्थापना गरेर सेवा उपलब्ध गराएकामा लगानीकर्तालाई धन्यवाद दिँदै आगामी दनमा निरन्तरता दिनका लागि शुभकामनासमेत दिएका छन् ।
उद्घाटन कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, पूर्व सासंद, उद्योगी तथा व्यवसायी लगायतको उपस्थिति थियो । सम्पूर्ण राजनीतिक दलको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका अध्यक्ष ललितकुमार राई, सम्पूर्ण जनप्रतिनिधिहरुको तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनश कठेत र सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुको तर्फबाट उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले शुभकामना मन्तव्य दिनुभएको थियो ।
फ्युल सेन्टर सञ्चालनमा आएपछि जिल्लामा ईन्धन अभाव देखाउँदै भौतिक संरचना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई अप्ठ्यारो पारेको छ । यसअघि जिल्लामा निर्माणाधीन विकासे योजनाका ठेकेदारले ईन्धन अभावको बहाना गर्दै विकास निर्माणका योजनामा ढिलासुस्ती गर्ने गरेका थिए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘खोटाङ फ्युल सेन्टर’सँगै दुईवटा फ्युल सेन्टर भएका छन् । ‘खोटाङ फ्युल सेन्टर’ रहेको स्थानभन्दा करिब ३०० मिटर टाढा स्थानीय महेन्द्र राई र ध्रुब श्रेष्ठको संयुक्त लगानीमा सात वर्षअघि हलेसी आयल ट्रेड एण्ड सप्लायर्स नामको पेट्रोल पम्प सञ्चालन गरिएको थियो ।
हलेसी आयल ट्रेड एण्ड सप्लायर्सले प्रयाप्त पेट्रोल वा डिजेल उपलब्ध गराउन नसक्दा जिल्लामा सञ्चालित विकासे योजनाका ठेकेदारहरु आफूलाई आवश्यक पर्ने डिजेल तथा पेट्रोल खरिद गर्न ठूला शहर पुग्नुपर्ने बाध्यता थियो । आयल निगमको आधिकारिक बिक्रेताका रुपमा स्थापना गरिएको खोटाङ फ्युल सेन्टर सञ्चालनमा आएपछि डिजेल र पेट्रोलको कालोबजारीसमेत रोकिने अपेक्षा गरिएको छ ।