खोटाङ, २४ भदौ । खोटाङ र उदयपुर जिल्लालाई जोड्ने सुनकोशी नदीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्न पहल थालिएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुमतिले खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सीमानामा पर्ने सुनकोशीस्थित बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गरिने भएको हो ।
लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा बङ्लिाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य एवम् खोटाङ जिल्लाका पूर्वसांसद विशाल भट्टराईको प्रयासमा अस्थायी बेलिब्रिज जडानको पहल थालिएको हो ।
अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिबीच आइतबार छलफल भएको छ । एमाले नेता भट्टराईको उपस्थितिमा जनप्रतिनिधिहरुबीच भएको भेलाले बेलिब्रिज जडानकाका लागि तत्काल बेलिब्रिजका समान बङ्सिलाघाट ल्याउन मन्त्रालयसँग अनुमति माग गर्ने निर्णयसमेत गरिएको छ ।
यसअघि खोटाङबाट पूर्वी शहर जोड्ने सुनकोशी नदीकै फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज समान बङ्सिलाघाटमा राख्ने तयारी शुरु गरिएको नेता भट्टराईले जानकारी दिनुभयो । “बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्ने अनुमति दिए पनि त्यसमा लाग्ने आवश्यक रकम सङ्घीय सरकारले विनियोजन गरेको छैन । तीन पालिकाले ब्यहोरेर भएपनि नदीमा पानीको बहाव कम भएपछि बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज जडान गर्नेगरी छलफल भएको छ”, उहाँले भन्नुभयो, “अस्थायी बेलिब्रिज जोड्न र निकाल्न करिब रु एक करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ । बङ्सिलाघाटमा जडान गर्ने तयारी गरिएको अस्थायी बेलिब्रिज लगाउन आवश्यक पर्ने आर्थिक जोहोका लागि पुनः अर्को बैठक बस्ने निर्णय गरेको छ ।”
दुई जिल्लाका जनप्रतिनिधिहरुबीचको छलफलमा चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख करुणा राई ‘दीक्षा’, बराहपोखरी गाउँपालिकाका उपप्रमुख भुवल राई तथा तीनै पालिकाका वडाध्यक्षहरु, विभिन्न राजनीतिक पार्टीका नेता, स्थानीयहरु सहभागी भएका थिए । छलफलले खोटाङ जिल्लाका जनताले खेप्नु परेको सास्तीलाई सबै तह, सबै पक्षले मूल्यांकन गर्नुपर्ने भन्दै तत्काललाई अस्थायी बेलिब्रिजबाटै भएपनि जनतालाई राहत दिनुपर्ने निस्कर्ष निकालेको हो ।
बङ्सिलाघाटमा वि.सं. २०७५ मा रु एक करोड ४३ लाख लागतमा निर्माण गरिएको २३५ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा छ । वारिपारि दुवैतर्फ कच्ची सडक निर्माण गरेर सञ्चालन गरिएको बङ्सिलाघाटमा भ्याटसहित रु १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा निर्माण शुरु गरिएको मोटरेबल पक्की पुल अलपत्र अवस्थामा छ ।
बङ्सिलाघाटमा निर्माण गरिने पक्की पुलका लागि कालिका–भेडान्सी जेभीले वि.सं. २०७९ मङ्सिर–१ गते सडक बिभागसँग निर्माणको सम्झौता गरेको थियो । यद्यपि, ३३ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण शुरु गरिएको मोटरेबल पक्की पुलको काम अहिलेसम्म करिब २५ प्रतिशतमात्र सम्पन्न भएको जनाइएको छ ।
तत्कालीन परराष्ट्र मन्त्री डा. नारायण खड्काले वि.सं. २०७९ पुस–१ गते शिल्यान्यास गर्नुभएको पुल निर्माणको काम अहिले ठप्प छ । बङ्लिाघाटमा निर्माणाधीन मोटरेबल पुलमा ठेकेदारको ढिलासुस्तीले समस्या भएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो ।
पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ । मोटरेबल पक्की पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेपछि मुख्य ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको थियो ।