महिला उद्यमीहरुको सक्रिया : स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने अभियानमा

Halesi Khabar
224 Shares

खोटाङ, २६ भदौ । ग्रामिण भेगमा बसोबास गर्ने अधिकांश सर्वसाधारणको भान्छामा तरकारीको रुपमा गुन्द्रुक, किनिमा र सिस्नो तथा भातको रुपमा कोदोको ढिँडो र मकैको ठेप्ला पाक्ने गर्दछ । पछिल्लो समय यही ग्रामिण भेगका सर्वसाधारणको भान्छामा पाक्ने गुन्द्रुक, किनिमा र सिस्नो तथा कोदोको पिठो र मकैको च्याख्ला शहर बजारमा बसोबास गर्ने मानिसको खोजिमा पर्न थालेको छ ।

ग्रामीण भेगका सर्वसाधारणले उत्पादन गरेका अर्गानिक खाद्यवस्तु तथा निर्माण गरेका हस्तकलाका सामग्री शहर बजारमा खोजि हुन थालेसँगै व्यवसायीकरण गर्ने अभियान शुरु गरिएको महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले बताउनुभयो । “पहिले–पहिले गुन्द्रुक, किनिमा र सिस्नो तथा कोदोको ढिँडो र मकैको ठेप्ला गरिबको भान्छामा पाक्ने खानेकुरा भनेर चिनिन्थ्यो । अहिले यसको महत्व र फाइदाका बारेमा धेरैलाई जानकारी भएको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन हुने अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री उत्पादकलाई व्यवसायिक बनाउँदै बजारीकरण गर्ने अभियानमा हामी लागेका छौँ । त्यसका लागि दिक्तेल बजारमा ‘खोटाङ उद्यमी कोसेलीघर’ नामको बिक्री केन्द्र स्थापना गरेर सेवा दिन थालेका छौ । स्थापनाकालमा रु सात हजारबाट शुरु गरिएको कोसेलीघरको लगानी अहिले रु २० लाख बढीको भएको छ ।”

वि.सं. २०८० साउनमा दर्ता गरेर असोजमा दिक्तेलस्थित रत्नपार्कमा स्थापना गरिएको कोसेलीघरमा गुन्द्रुक, किनिमा, सिस्नोको धुलो, कोदो तथा फापरको पिठो, मकैको च्याख्ला, कहत, कालो दाल, सिमी लगायतका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा स्थापना गरिएको कोसेलीघरमा राँगाको सुकुटी, अचार तथा अचारजन्य वस्तु, भीर मौरी तथा घर मौरीको मह, गाई, भैँसी तथा भेडाको घ्यू, कोलमा पेलेको तोरीको ते, अकबरे खुर्सानीको अचार, घरेलु जाँड तथा रक्सी उत्पादनमा प्रयोग हुने मर्चा, जडीबुजन्य वस्तुका साथै हस्तकलाका घरेलु सामग्री बिक्रीका लागि राखिएको जनाइएको छ ।

नगरपालिकाले निर्माण गरेको सपिङ कम्प्लेक्सको दुईवटा सटरमा सञ्चालित कोसेलीघरमा बाँसको चोयाबाट निर्माण गरिने घरेलु सामग्रीहरु डालो, नाङ्लो, थुन्से, फिपी, कोक्रो तथा हस्तकलाका सामग्रीहरु कठुवा, ठेकी, काठको चिन्डो लगायतका सामग्री बिक्रीका लागि राखिएका छन् । यस्तै, ढाकाको टोपी, कपासको धागोबाट बुनिएको दौरासुरुवालको कपडा, भेँडाको ऊनबाट बुनिएको लुकुनी, घुमराडी, चकटी लगायत राखिएका छन् ।

खाद्य पदार्थ र कस्तकलाका सामग्रीसँगै विभिन्न जातजातिको सँस्कार तथा सँस्कृतिसँग सम्बन्धित ऐतिहासिक सामग्रीसमेत बिक्रीका लागि राखिएको अध्यक्ष राईले जानकारी दिनुभयो । हिन्दु परम्पराअनुसार कन्या मगनी गर्न जाँदा प्रयोग गरिने ठेकी, आदिवासी जनजाति समुदायको सँस्कारअनुसारको कठुवा, विभिन्न जातजातिको भेषभुषा तथा बाजागाजा लगायतका सामग्रीहरु बिक्रीका लागि राखिएका छन् ।

कोसेलीघरमा बिक्रीका लागि राखिएका खाद्यपदार्थ तथा हस्तकलाका सामग्री स्वदेशमाभन्दा बढी विदेशमा निर्यात हुने गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । “जिल्ला भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकले यहाँको चिनोको रुपमा हस्तकलाका सामग्री खरिद गर्छन् । खोटाङमा जन्मिएर विभिन्न देशमा पुगेकाहरुले घर आएको समयमा अर्गानिक खानेकुरा कोसेलीको रुपमा लाने गरेका छन्”, उहाँले भन्नुभयो, “हस्तकलाका सामग्रीहरु सबैभन्दा बढी क्रमशः युके (बेलायत), हङकङ, सिङ्गापुर लगायतका देशहरुमा निर्यात हुने गरेको छ । कोसेली घर स्थापना गरेको वर्ष दिन नपुग्दै ग्राहकको माग बढ्दै गएपछि दुईजना कर्मचारीलाई मासिक तलब दिएर सेवा दिइरहेका छौँ ।”

महिला उद्यमीहरुले उत्पादन गरेका अचार लगायतका खाद्यवस्तुहरु बजारीकरणका लागि विभिन्न ठाउँमा आयोजित कृषि पदर्शनीमासमेत राख्ने गरिएको छ । खोटाङ महिला उद्यमी कोसेलीघरको प्रतिनिधित्व गरेर प्रदर्शनीमा राखिएका अकबरे खुर्साको अचारले धेरैबाट पुरस्कारसमेत हात पारिसकेको छ ।

कोसेलीघरमा बिक्रीका लागि राखिने अगर्गानिक खाद्यवस्तु तथा कस्तकलाका सामग्री जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गर्ने गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । डालो, नाङ्लो, फिपी नुनथला, रुभुङ, खाल्ले, काठको चिण्डो लफ्याङ, कोक्रो र थुन्से खार्मी, बाक्सिला, भीर मौरी मह सुङ्देल, मर्चा नुनथला र रुभुङ, राडीपाखी नेर्पा, सिस्नोको धुलो दिक्तेल लगायतका ठाउँहरुबाट सङ्कलन गर्ने गरिएको जनाइएको छ ।

स्थानीय उत्पादनलाई थप प्रवद्र्धन गर्दै व्यवसायीकरण गर्न काठमाडौँस्थित पके कलेक्सनसँगसमेत सहकार्य गरिएको अध्यक्ष राईले जानकारी दिनुभएको छ । दिक्तेलमा सञ्चालित खोटाङ महिला उद्यमी कोसेलीघरमा सङ्कलन भएका अर्गानिक खाद्यवस्तु तथा हस्तकलाका सामग्री पके कलेक्सनले खरिद गरेर बिक्री गर्दै आएको जनाइएको छ ।

कोसेलीघर सञ्चालनका लागि नगरपालिकाले महिला उद्यमीहरुलाई निःशुल्क तालिम तथा औजार उपलब्ध गराएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । “स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न नगरपालिका आफै पनि लागिपरेको छ । यसमा सबैको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो, “महिला उद्यमीहरुले पनि व्यवसायिक बन्ने उद्देश्यसहित अभियान थालेका छन् । नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउँछौँ ।”

दिक्तेलमा सञ्चालित कोसेलीघरले स्थानीय उत्पादनलाई उचित मूल्यमा खरिद गर्न थालेपछि कृषक तथा उद्यमीहरुसमेत लाभान्वित भएका छन् । कोसेलीघरमा उपलब्ध खाद्यवस्तु तथा सामग्री सुफथ मूल्यमा पाउने गरिएको उपभोक्ताहरुले बताउने गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया