काँग्रेसका भूपेन्द्र राई कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त

Halesi Khabar
42 Shares

खोटाङ, २८ भदौ । खोटाङ प्रदेशसभा २ (ख)का सांसद् भूपेन्द्र राई कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट विजयी काँग्रेसका राईलाई शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

सहमति भएको झन्डै अढाई महिनापछि मुख्यमन्त्री कार्कीले शुक्रबार काँग्रेसका तर्फबाट तीन मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरु राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रलायको राज्यमन्त्री रहनुभएको छ ।

नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहनुभएका राईसहितका मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबारै बिहान पद तथा गोपनीयताको शपथ खुवाउनुभएको जनाइएको छ । मन्त्रीमण्डलमा काँग्रेसबाट चारजना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको सङ्ख्या १० पुगेको छ ।

काँग्रेसबाट नियुक्त हुनुभएका मन्त्रीहरूमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिनुभएको जनाइएको छ । नेता डाक्टर शेखर कोइराला समूहका लागि १ जना मन्त्री र १ राज्यमन्त्री बनाउने बताइएको छ ।

यद्यपि, उक्त समूहबाट नाम नगएकाले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरू मन्त्री नियुक्त भएको जनाइएको छ । यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई  ‘पिके’ सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री र सिर्जना राई राज्यमन्त्रीको रूपमा नियुक्त भइसक्नुभएको थियो ।

तपाईको प्रतिक्रिया