खोटाङ, १ असोज । धेरै पढेका व्यक्तिले गोठाले जीवन बिताइरहेका छन् भन्ने सुन्दा हाम्रो समाजलाई अनौठो घटनाजस्तो लाग्छ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने भाष्य सिर्जना भएको हाम्रो समाजका लागि केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेराहाका लक्ष्मण साम्पाङ ‘समिप’ले पछिल्लो समय व्यवसायिकरुपमा भेडापालन व्यवसाय गरेर उदाहरणीय काम गर्नुभएको छ ।
राजनीतिक शास्त्रमा स्नातकोत्तर (मास्टर्स डिग्री) उत्तीर्ण गर्नुभएका समिपले पाँच वर्षअघि आधिकारिक रूपमा भेडापालन फार्म (मुन्धुम भेडापालन फार्म) दर्ता गरेर व्यावसायिकरुपमा भेडापालन शुरू गर्नुभएको हो । समिपको भेडा फार्ममा अहिले करिब ५०० को हाराहारीमा उन्नत (बडुवाल) जातका भेडा रहेका छन् ।
स्नातकोत्तर गरेको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमाको चाहना चाहना विपरीत आफू भेडापालन व्यवसायमा लागेको समिपले बताउनुभयो । “सानैदेखि म स्वतन्त्रतामा रमाउने मान्छे । सरकारी जागिरमा स्वतन्त्रता हुँदैन”, उहाँले भन्नुभयो, “अहिले धेरै व्यक्तिले राजनीतिलाई पेशा बनाएका छन् । राजनीति पेशा हैन, सेवा गर्ने माध्यम हो । राजनीतिमार्फत सेवा गर्न आर्थिक अवस्था राम्रो हुनुपर्छ । राजनीतिलाई अगाडि बढाउन जोसुकैको पनि आम्दानीको स्रोत हुनैपर्छ । भेडापालन व्यवसायबाट आएको आम्दानी घर खर्च र राजनीतिमा लगानी गर्दै आएको छु ।”
दिक्तेलस्थित सालपा विकास बैङ्कबाट ऋण काढेर रु २० लाखमा उन्नत जातका १८० भेडाको मल्ला खरिद गरेर व्यावसायिक भेडापालन शुरू गर्नुभएका समिपको फार्मबाट अहिले वार्षिक करिब रु २० लाख आम्दानी हुने गरेको बताइएको छ । वि.सं. २०५८ देखि राजनीतिमा समेत सक्रिय रहनुभएका समिप अहिले ३९ वर्षको हुनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गर्नुभएका समिप अहिले नेकपा (माओवादी केन्द्र) केपिलासगढी गाउँपालिका कार्यसमितिका सचिव हुनुहुन्छ । ‘राजनीतिलाई पेशा हैन, सेवा गर्ने माध्यम बनाउनुपर्छ,’ भन्ने सन्देश युवा पुस्तालाई दिँदै आउनुभएका समिपलाई भेडापालन व्यवसायमा आफ्नै सहोदर अन्तरे भाइले समेत सहयोग गर्दै आउनुभएको छ ।
बुबा तीर्थमणि र आमा गोरी साम्पाङका जेठा छोरा समिपलाई अन्तरे भाइ २४ वर्षीय भैराज साम्पाङले सहयोग गर्दै आउनुभएको छ । फार्म सञ्चालक दाजु समिपले मास्टर्स डिग्रीसम्मको अध्ययन पूरा गर्नुभए पनि भाइ भैराजले भने, माध्यमिक शिक्षा परीक्षा (एसइई)सम्म मात्रै उत्तिर्ण गर्नुभएको छ ।
फेदीस्थित तेराहा निवासी एकैघरका दुई दाजुभाइसँगै फेदीकै स्थानीय बासिन्दा ४५ वर्षीय पृथीराज राई र २३ वर्षीय कल्याण राईसमेत पछिल्लो समय उक्त फार्ममा आबद्ध भएर व्यवसायिकरुपमा भेडापालन व्यवसायमा लागेका छन् । भेडापालनबाट राम्रो आम्दानी हुने देखेपछि वैदेशिक रोजारीका लागि विदेश जान छाडेर उनीहरु पनि व्यवसायिकरुपमा भेडापालन व्यवसाय गर्न तत्पर भएका हुन् ।
फेदीका उनीहरु चारैजना अहिले पालैपालो लेकबेँसी गर्ने भेडीचोकमा बसेर आफ्ना भेडाको हेरचाहमा जुट्ने गरेका छन् । उनीहरूको भेडीचोक हिउँदको समयमा बेँसी क्षेत्रको रावा फाँट तथा स्थानीय बासिन्दाको खेतबारी र वर्षाद्को समयमा लेकाली क्षेत्र मयुङ लगायतका फाँटहरूमा चरनका लागि पु¥याउने गरिएको छ ।
चार युवाको सामुहिक भेडा फार्ममा हुर्किरहेका भेडाका थुम्बा (साँढ) र पाठापाठी रमित लाग्दो देखिने गरेका छन् । उनीहरु भेडासँगै पर्यटकीयस्थल (झण्डै तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको) मयुङका घाँसे मैदानमा रमाइरहेका भेटिन्छन् ।
खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृष्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गर्छ । बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसे मैदान, प्रयाप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृष्य सजिलै देख्न सकिने ठाउँहरु रहेको पर्यटकीयस्थल मयुङ समुन्द्री सतहदेखि तीन हजार ३३३ मिटर उचाइमा पर्दछ ।
भेडीचोक बेँसी झरेको समयमा आफ्नो खेतबारी मल्न भेडीचोक राख्नका लागि स्थानीय बासिन्दाले तँछाडमछाड नै गर्ने गर्दछन् । भेडाको मल अरू गाईवस्तुको भन्दा कडा र मलिलो हुने भएकाले लेकाली क्षेत्रमा राखिएका भेडीचोकहरूमा पुगेर स्थानीय बासिन्दाले भेडाको बर्कुला समेत ल्याएर आफ्नो खेतबारीमा लगाउने गरेका छन् ।
भेडापालनका लागि जिल्लाको वातावरण उपयुक्त तथा पर्याप्त मात्रामा घाँसे मैदानहरू रहेकाले आधिकारिक रूपमा फार्म दर्ता गरेर व्यावसायिक भेडा पालन शुरू गरिएको समिप बताउनुभएको छ । “भेडाको साँढ, पाठापाठी, ऊन र घिउ भेडीचोकबाटै बिक्री हुन्छ । अन्य पशुपालनभन्दा भेडा पाल्न सजिलो र छोटो समयमै राम्रो आम्दानी समेत दिन्छ”, उहाँले भन्नुभयो, “श्रम अर्थात् व्यवसाय गर्न कुनै पनि सजिलो भने छैन । श्रमलाई सम्मान र आफूले गरेको पेशा तथा व्यवसायमा सन्तुष्टि लिन सक्नुपर्छ ।”
दश स्थानीय तह रहेको जिल्लामा एउटा भेडाको साँढ (बाढ पुगेको) रु ५० हजारसम्म, मासु प्रतिकेजी रु ८००, ऊन प्रतिकेजी रु. ५०० सम्म र घिउ प्रति कुरुवा रु. चार हजारसम्ममा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादित भेडाको साँढ, ऊनबाट बनेका विभिन्न प्रकारका राडीपाखी र घिउ जिल्लाबाहिर निर्यात हुने गरेको छ ।
भेडाको घिउ औषधिजन्य पदार्थको रुपमा प्रयोजनका लागि समेत उपयोग गर्ने गरिन्छ । आगोले पोलेर बनेको घाउमा भेडाको घिउ लगाउँदा छिटो निको हुनुका साथै दागसमेत हट्ने प्रयोगकर्ताहरुले बताउने गरेका छन् ।
भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्थामा युवा पुस्ताले यस व्यवसायलाई व्यावसायिक रूप दिन थालेपछि आशा जागेको छ । परम्परागत प्रणालीमा पालिँदै आइएको भेडापालन व्यवसायलाई युवापुस्ताले आधुनिक रूप दिएका छन् ।
उनीहरूले भेडाका लागि भेडीचोक (भेडा तथा आफू बस्ने ठाउँ) सुधार, भेडाका लागि आवश्यक औषधि उपचारको व्यवस्था, नश्ल सुधार (उन्नत जातका पाठापाठी उत्पादन गर्न अपनाइने विधि) तथा भेडाको बीमासमेत गर्ने गरेका छन् । गुरुङ समुदायले मात्र आफ्नो परम्परागत व्यवसायकारूपमा भेडापालन गर्दै आएको यस जिल्लामा पछिल्लो समय सबै जातजातिका युवाले व्यवसायिकरुपमा भेडा पाल्न थालेका छन् ।