खोटाङ, १ असोज । राष्ट्रिय दलित पत्रकार सङ्घ खोटाङ शाखाको अध्यक्षमा पुनः सविना अछामे परियार चयन हुनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ खोटाङको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले सविनालाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो ।
एघार सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा लेख रम्तेल, सचिवमा विष्णु उपरकोटी, सहसचिवमा ज्ञानेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा सन्तोष विश्वकर्मा चयन हुनुभएको छ । सदस्यहरुमा प्रमिला परियार, अजय गदाल, कोशन रोक्का, जुनु परियार, दुर्गा विश्वकर्मा र मनिष परियार चयन हुनुभएको छ ।
दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न अधिवेशनले सर्मिला विश्वकर्मा, गङ्गाबहादुर विश्वकर्मा, मिलन चाहार, पर्शुराम विश्वकर्मा र राजन ठटाललाई सल्लाहकार समितिमा राखेको छ । नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय दलित पत्रकार सङ्घ कोशी प्रदेश समितिका उपाध्यक्ष गङ्गाबहादुर विश्वकर्माले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको छ ।
सङ्घले अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृतसमेत गरेको छ । सङ्घले खोटाङ टुडे डटकमका पत्रकार कृष्णकला राई र इफोकस डटकमका पत्रकार राजन ठटाललाई जनही नगर रु दुई हजार ५०० सहित पुरस्कृत गरेको हो ।
नेपाल पत्रकार महासङ्घ खोटाङका महिला उपाध्यक्ष कृष्णकला र प्रेस चौतारी नेपाल खोटाङका उपाध्यक्ष राजनलाई कार्यक्रमका प्रमुख अतिथि गङ्गाबहादुरले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । कृष्णकलालाई सङ्घर्षशील पत्रकार तथा राजनलाई उदयीमान पत्रकारको रुपमा पुरस्कृत गरिएको अध्यक्ष सविनाले जानकारी दिनुभयो ।
अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरुले शुभकामना दिँदै जिल्लामा क्रियाशील सबै पत्रकारहरुसँगै सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका छन् । उद्घाटन कार्यक्रममा अग्रज पत्रकार कृष्ण आचार्य, नेपाल पत्रकार महासङ्घका अध्यक्ष दिलिप खत्री, पूर्व अध्यक्षहरु डम्बरसिं राई र दमन राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य उजुर राई, खोटाङ दलित विकास मञ्चका अध्यक्ष पर्शुराम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।