संविधान कार्यान्वयनमा नेताहरु उदासीन देखिए : नेतृ दुर्गाजयन्ती राई

Halesi Khabar
56 Shares

खोटाङ, ३ असोज । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले संविधान कार्यान्वयनमा ठूला राजनीतिक दलका नेताहरु उदासीन देखिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको ‘संविधान सम्बन्धी परिसम्वाद’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएकी नेतृ राईले ठूला दलका नेताहरुले संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो ।

नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको नौँ वर्ष बितिसक्दा पनि संविधानसँग बाझिने कतिपय पुराना ऐन÷नियमावली तथा कानूनहरु संशोधनमा नेताहरुले चासो नदिएकोप्रति नेतृ राईले दुःखसमेत व्यक्त गर्नुभयो । “संविधानसँग बाझिने ऐन, नियमावली तथा कानूनहरु संशोधन गरेर अगाडि बढ्नुपर्नेमा त्यसप्रति नेताहरुले चासो दिएको देखिँदैन । पुराना ऐन, नियमावली तथा कानूनहरु संशोधन नहुँदा धेरै अप्ठ्याराहरु देखिएका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय संविधान नै संशोधन गर्नुपर्छ भन्ने आवजसमेत उठ्न थालेको छ । जनताको अधिकार कुण्ठित हुनेगरी गरिने संशोधन मान्य हुने छैन ।”

नेतृ राईले नेपालका ठूला भनिएका राजनीतिक दलका नेताहरु जनमुखी नभएका कारण पछिल्लो समय जनतामा निराशा छाएको ठोकुवा गर्नुभयो । जनतामा जटिलरुपमा छाउँदै गएको निराशालाई निराकरण गर्न तीनवटै तहका जनप्रतिनिधिहरुले योजनाका साथ अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागी पूर्वसांसद एवम् नेपाल कम्युनिष्ट पार्टी (एककिृत समाजवादी)का केन्द्रीय सदस्य कुलप्रसाद फुयालले संविधानलाई ठूला भनिएका राजनीतिक दलका नेताहरुले आफू अनुकुल प्रयोग गर्दा समस्या देखिएको बताउनुभयो । “वर्तमान गठबन्धन सरकारले संविधान संशोधन गर्ने प्रयास गरिरहेका छन् । जनताको अधिकार कुन्ठित गर्न संशोधन गर्ने तयारी गरेको हाम्रो पार्टीको ठहर छ । यसमा जनताले खबरदारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकार नै प्रतिगमनकारी छ । सङ्घीय सरकार संविधान विपरित एकाधिकार लाद्न खोजिरहेको छ । संविधानमा प्रद्धत्त अधिकार कार्यान्वयनमा सबैले खबरदारी गर्न आवश्यक छ ।”

नेपाली काङ्ग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले नेपालको संविधान गतिशील भएकाले समय सापेक्ष संशोधन गर्दै लैजानुपर्ने अवस्था आएको धारणा राख्नुभयो । “सहमतिमा निर्माण गरिएको संविधान सहमतिमै संशोधन गर्नुपर्छ । कुनै अमुक दलको स्वार्थ पूर्ति हुनेगरी संशोधन गर्नुहुँदैन”, उहाँले भन्नुभयो, “प्रतिनिधिसभा र राष्ट्रियसभाका दुई तिहाइ बहुमतले संविधान संशोधन गर्न सकिन्छ भन्ने संविधानमै उल्लेख छ । वर्तमान संविधानलाई समय सापेक्ष संशोधन गरेर चलाएमान बनाउनुपर्छ ।”

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संविधानले स्पष्ट मार्ग निर्देश गरेपनि नागरिकता लगायतका सेवा लिने सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो । “नेपाली नागरिकले नागरिकता पाउने अधिकार संविधानको मौलिक हकमै उल्लेख छ । तर, सेवाग्राहीले नागरिकता ऐन तथा नियमावलीमा उल्लेख भएका प्रक्रियाहरु पूरा गर्नैपर्छ”, उहाँले भन्नुभयो, “कतिपय अवस्थामा आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा सेवाग्राहीलाई झण्जट भयो होला ! यद्यपि, नागरिकता पाउने नेपाली नागरिकको संविधान प्रद्धत्त हकलाई प्रशासनले कुनै पनि बहानामा रोकेको छैन ।”

कार्यक्रममा जिल्जा सरकारी वकील कार्यालय खोटाङका जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरे, दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हीराकुमार राई, नेपाल बार एशोसियसन नेपाल खोटाङका सचिव ओमप्रकाश घिमिरे लगायतले परिसम्वाद कार्यक्रममा भाग लिएका थिए । पत्रकार महासङ्घका अध्यक्ष दिलीप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान दिवस मूल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, तीनवटै सुरक्षा निकायका प्रमुख, कानून व्यवसायी, नागरिक समाज लगायतको उपस्थिति थियो ।

संविधान दिवस मूल समारोह समितिले तीन दिनदेखि विभिन्न कार्यक्रमगरी दिवस मनाइरहेको छ । स्वास्थ्य शिविर, सरसफाइ, विभिन्न प्रतियोगितात्मक कार्यक्रम लगायत गर्दै संविधान दिवस मनाउनेक्रम जारी रहेको मूल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया