खोटाङ, ७ असोज । बआगामी दिनमा सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य टिकट काट्न लगाउने तथा यात्रा गर्ने सबै यात्रुलाई अनिवार्य टिकट दिएरमात्रै यातायात व्यवसायीलाई सवारी साधन चलाउन लगाउने निर्णय गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको दशैँतिहार तथा छट पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय खोटाङले सोमबार आयोजना गरेको सर्वपक्षीय बैठकले हरेक यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै यात्रा गर्ने÷गराउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
जिल्लामा सञ्चालित विशेषगरी कतिपय जीपले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने तर, टिकट नदिने जनगुनासो आएकाले टिकट अनिवार्य गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “हरेक यात्रुको टिकट काटे÷नकाटेको विषयमा जयराम, दिक्तेल लगायतका पोष्टमा प्रहरीले चेकजाँच गर्नेछ । यात्राका क्रममा बढी भाडा लिए वा टिकट नदिए तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरुलाई आग्रह गरिएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित सवारी साधनले तोकिएभन्दा बढी भाडा लिएको अथवा टिकट नखिएको खण्डमा प्रचलित कानून अनुसार कारबाही गरिन्छ । यसका लागि मातहतका सबै प्रहरी परिचालन गरिएको छ ।”
जिल्ला प्रशासन कार्यालय खोटाङमा बसेको सर्वपक्षीय बैठकले जिल्लाबाट छुट्ने जीप तथा बसको पुरानै भाडा दर कायम गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सहभागी यातायात व्यवसायी सङ्घका प्रतिनिधिले भने चाड पर्वको समयमा एकतर्फीमात्रै यात्रु हुने जानकारी दिँदै भाडादर वृद्धिको प्रस्ताव राखेका थिए ।
यस्तै, दशैँतिहार तथा छट पर्वलाई लक्षित गर्दै ग्रामीण सडक मर्मतका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ । मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड तथा दिक्तेल–गाईघाट सडक मर्मतका लागि सम्बन्धित आयोजनाको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकमा दशैँतिहार तथा छट पर्वका लागि खाद्यान्न, लत्ताकपडा, दलहन, तेलहन लगायतका सामान सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग वाणिज्य संघले पहल गर्ने तथा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयबाट नियमित बजार अनुगमन गर्ने निर्णय भएको छ । चाड पर्वको समयमा हुन सक्ने चोरी लगायतका आपराधिक घटनालाई निरुत्साहित गर्न सुरक्षा व्यवस्था कडा बनाउनेसमेत निर्णय भएको छ ।