खोटाङ, ९ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा निर्माणाधीन फलफूल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिका क्षेत्रभित्रका कृषकले उत्पादन गरेका किबी, स्याउ, नास्पाती, आल्चा लगायतका फलफूललाई प्रशोधन गरेर पेय पदार्थ (जुस) उत्पादन गर्दै बजारीकरण गर्ने उद्देश्यले निर्माण शुरु गरिएको प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो ।
निर्माणाधीन फलफूल प्रशोधन केन्द्रका लागि आवश्यक पक्की भवन निर्माण तथा उपकरण खरिदको काम सम्पन्न भएको नगर उपप्रमुख विशन राईले बताउनुभयो । “सङ्घीय सरकारको समपूरक अनुदान अन्तरगत रु एक करोड रकममा निर्माण शुरु गरिएको फलफूल प्रशोधन केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेका छन् । अहिले आवश्यक उपकरण तथा विद्युत जडान गर्ने काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नेर्पामा निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि प्रतिघण्टा २०० लिटर जुस उत्पादन हुन्छ । यसले खेर गइरहेका फलफूल उपयोग हुनुका साथै कृषकले समेत रोजगारी पाउनेछन् ।”
बाहिरी जिल्लाबाट आयातित पेय पदार्थ (जुसजन्यवस्तु)लाई विस्थापित गर्दै पुँजी पलायन हुनबाट रोक्ने उद्देश्यले फलफूल प्रशोधन केन्द्र निर्माणको काम शुरु गरिएको नगर उपप्रमुख राईले जानकारी दिनुभयो । “कृषकले उत्पादन गरेका किबी, स्याउ, नास्पाती, आल्चा लगायतका फलफूल उपयोग विहीन भएका छन् । खेर गइरहेका फलफूललाई प्रशोधन गर्दै बजारीकरण गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाका साथ फलफूल प्रशोधन केन्द्र निर्माण गरेका हौँ”, उहाँले भन्नुभयो, “पेय पदार्थको रुपमा प्रयोग गरिने कोक, ड्यू, फ्यान्टा, रेटबुल लगायतका वस्तुहरु आयात गर्दा करोडौँ रकम बाहिर जान्छ । बाहिरबाट आयात हुने त्यस्ता वस्तुहरुलाई विस्थापित गर्दै पुँजी पलायन हुनबाट रोकेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना शुरुवात गरिएको हो । यो चाँडै सञ्चालनमा ल्याउन तयारी गरिएको छ ।”
वि.सं. २०८० माघ–१२ गते सम्झौता गरेर निर्माण शुरु गरिएको फलफूल प्रशोधन केन्द्रको भवन र फलफूल प्रशोधन गर्ने उपकरण खरिदको काम सुदेवी कन्ट्रक्सन प्रा.लि. हलेसीले जिम्मा लिएको थियो । भ्याटसहित रु ८४ लाख १२ हजार ५९७ को लागतमा सम्पन्न गर्ने सम्झौताअनुसार गरिएको भवन निर्माण र उपकरण खरिदको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर नगरपालिकालाई हस्तातरण गरिएको ठेकेदार कम्पनीका प्रोपाइटर सुवास राईले जानकारी दिनुभएको छ ।
प्रशोशन केन्द्रको भवनसम्म पुग्ने विद्युत विस्तार र फलफूल प्रशोधन गर्ने उपकरण जोड्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । निर्माणाधीन फलफूल प्रशोधन केन्द्रको भवनमा आवश्यक पर्ने थप कोठा विस्तार गर्नका लागि कोशी प्रदेश सरकारले यस आर्थिक वर्षका लागि रु २० लाख उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभएको छ ।
निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाभित्रका कृषकलाई मात्र नभइ जिल्लाभरीका कृषकलाई राहत मिल्ने अपेक्षा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताउनुभयो । “जिल्लामा फलफूत प्रशोधन केन्द्र नहुँदा बिक्री भएर बाँकी रहेका फलफूल त्यतिकै खेर जाने गरेको थियो । नेर्पामा निर्माणाधीन फलफूल प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेसँगै व्यवसायिकरुपमा फलफूल खेती गर्दै आएका कृषकहरु उत्साहित भएका छन्”, उहाँले भन्नुभयो, “अघिल्ला कार्यकालका जनप्रतिनिधिले निर्माण गरेका धेरै संरचनाहरु उपयोगविहीन छन् । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनका लागि वर्तमान जनप्रतिनिधिले दीर्घकालीन योजना बनाउन आवश्यक छ ।”
निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालन आएसँगै कृषकले भोग्दै आएका समस्या अन्त्य हुने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र वार्षिक करिब ३० हजार केजी किबी उत्पादन हुने नगरपालिकाले जनाएको छ ।
फलफूल प्रशोधन केन्द्र निर्माणका लागि शुभचन्द्र राईले साढे चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको नगरपालिकाले जनाएको छ । कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले आफ्नै क्षेत्रमा फलफूल प्रशोधन केन्द्र स्थापनाको काम थालेपछि कृषकहरु फलफूल खेतीमा हौसिएका छन् ।
निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सम्पन्न भएपछि टेन्डर आव्हान गरेर निजी क्षेत्रका उद्यमीलाई सञ्चालनको जिम्मेवारी दिने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र यसै आर्थिक वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।