निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा : उपभोक्ता समितिका कारण छ वर्षदेखि अलपत्र

Halesi Khabar
28 Shares

खोटाङ, १० असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण शुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माण अलपत्र परेको छ । पाँच वर्षभित्र सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७४ माघ–१९ गते शिलान्यास गर्नुभएको ६० फिट अग्लो गुम्बा निर्माणको काम उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो ।

प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा निर्माण शुरु गरिएको गुम्बा निर्माणका लागि स्थानीय महेश तामाङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । करिब रु २१ करोड लगानीमा सम्पन्न हुने निर्माणाधीन गुम्बाका लागि अहिलेसम्म जगमात्र ठड्याइएको छ ।

नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । तर, निर्माणाधीन अवस्थामै अलपत्र परेको गुम्बाको काम पुनः अगाडि बढ्ने कुनै छाट्काट छैन ।

आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाले उपलब्ध गराएको रु १५ लाख बजेटमा फाउण्डेसनको काम भएको र आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशको रु ९९ लाख बजेटबाट ग्राउण्ड फ्लोर र पिलरको डण्डी ठड्याइएको थियो । प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत रु एक करोड भन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले रु ९९ लाखको सम्झौता गरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनि उपभोक्ता समितिले फरफारक गरेपनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले प्रदेशमा गुनासो गरेका थिए । गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि वि.सं. २०७४ वैशाख–५ गते प्रदेश सरकार र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

नुनथलामा निर्माणाधीन गुम्बा योजनाको काममा अनियमितता भएपछि अलपत्र परेको वडाअध्यक्ष भगेश्वर राईले बताउनुभयो । “प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम शुरु भएको गरिएको थियो । निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द ग¥यो”, उहाँले भन्नुभयो, “जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ । अलपत्र यो योजना पूरा गर्नका लागि पहल गर्न वडामा आएको बजेटले सम्भावना छैन । थप बजेट माग्नका लागि पनि अनियमितता भएको विषयले बाटो बन्द भएको छ ।”

गुम्बा निर्माण योजनाका लागि पहिलो चरणमा प्रदेश सरकारबाट आएको रकम पूरा काम नगरी फरफारक गरेर हिँडेपछि निर्माण उपभोक्ता समितिका अध्यक्ष तामाङ सम्पर्कविहीन बनेको स्थानीयले आरोप लगाएका छन् । गुम्बा निर्माणमा आएको राज्यकोषको काम नै नगरी फरफारक गरेर योजना नै अलपत्र पार्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ ।

उता, उपभोक्ता समितिका अध्यक्ष तामाङले भने, प्रदेश सरकारबाट खटिएका इन्जिनियरले गरेको स्टिमेट अनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गर्नुभएको छ । “तोकिएको काम हामीले सम्पन्न गरेका छौँ । कसले के भन्छ, त्यो हामीलाई सरोकार भएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय रकम अभावका कारण निर्माणाधीन गुम्बाको काम रोकिएको छ । सरकारबाट बजेट प्राप्त नभएको खण्डमा चन्दा सङ्कलन गरेर भए पनि निर्माण सम्पन्न गर्ने योजनामा छौँ ।”

बौद्ध धर्मावलम्बीको जन्म तथा मृत्यु संस्कार गर्न, विवाह गर्न र बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण शुरु गरिएको उपभोक्ता समितिले जनाएको थियो । गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ (राई)ले १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गा निःशुल्क उपलव्ध गराउनुभएको छ ।

बहुउद्देश्यसहित निर्माण शुरु गरिएको सुविधा सम्पन्न गुम्बामा बौद्ध धर्मसँग सम्बन्धित १०८ वटा मुर्ति राख्ने योजना बनाइएको थियो । यस्तै, बौद्ध धर्ममा माटोको मुर्ति पवित्र हुने धार्मिक मान्यता अनुसार गुम्बामा माटोको १०० वटा तथा पित्तल र ढलौटको अन्य मूर्ति राखिने बताइएको थियो ।

पर्यटकीयस्थल नुनथलास्थित संसारीडाँडामा निर्माण हुने गुम्बाबाट नाङ्गो आँखाले सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमश्रृंखलाका साथै तराईका समथर भू–भागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । नुनथलामा गुम्बा बनेपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको थियो ।

तपाईको प्रतिक्रिया