खोटाङ, १० असोज । माछा मार्नेक्रममा दूधकोशीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । खुट्टामा लगाएको चप्पल फुस्किएर पानीले बगाउँदै गर्दा अठ्याउन खोज्दा चिप्लिएर दूधकोशीमा डुबेर यही असोज–६ गते बेपत्ता बनेका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो ।
स्थानीय साथीहरुसँग माछा मार्न दूधकोशी गएका मगर असोज–६ गते साँझ मङ्गलटारमै पर्ने दूधकोशीस्थित कुखुरेबेँसीबाट बगेर बेपत्ता बनेका थिए । दूधकोशीमा बेपत्ता बनेका मगरलाई स्थानीयबासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज–८ गते गोताखोर टोली आएको थियो ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा धमिलो बाढी आउँदा ‘भिजिविलिटी’ कम भएका कारण खोजी कार्य कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मङ्गलटारका वडाध्यक्ष गन राईले जानकारी दिनुभयो । “कोशीमा बाढी आइरहेको छ । गोताखोर टोली आएलगत्तै खोजी कार्य तीव्र पारिएको थियो”, उहाँले भन्नुभयो, “घटनास्थलदेखि जयरामघाटसम्म खोज्यौँ । कोशीमा धमिलो बाढी आउनेक्रम नरोकिएका कारण फेला पार्न सकिने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो ।”
शरद ऋतु शुरु भएसँगै लेकाली क्षेत्रबाट बेँसी झर्न थालेका माछालाई छेकेर मार्नका लागि मङ्गलटारका मगरसहित आठ जनाको समूह दूधकोशी झरेका थिए । आफूहरुसँगै माछा मार्न गएका साथी दूधकोशीमा बगेर बेपत्ता भएपछि घर फर्किएर उनीहरुले आफन्त तथा प्रहरीलाई खबर गरेका थिए ।
माछा मार्न सँगै गएका साथी दूधकोशीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै स्थानीयबासी र प्रहरीले खोजी शुरु गरेको थियो । दूधकोशीमा बेपत्ता बनेका मगर सशसत्र प्रहरीको गोताखोर टोलीले समेत फेला पार्न नसकेपछि परिवार चिन्तित बनेका छन् ।