आयोजक केएफएले उचाल्यो भेट्रान फुटबल प्रतियोगिताको उपाधि

Halesi Khabar
49 Shares

खोटाङ, १० असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो केएफए अन्तर संस्था तथा भेट्रान फुटबल प्रतियोगिता–२०८१’ को उपाधि आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नेर्पा स्पोर्टस क्लब नेर्पाका भेट्रान टोलीलाई ट्राईब्रेकरमा दुई शून्यले हराउँदै आयोजक केएफएले उपाधि उचालेको हो ।

प्रतियोगिताको उपाधि विजेता केएफएले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने, उपविजेता नेर्पाले नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । निर्धारित समयको खेलमा दुवै टोलीको एक÷एक गोल भएपछि ट्राईब्रेकरमा धकेलिएको प्रतियोगितामा आयोजक केएफएले नेर्पाविरुद्ध दुई गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षक आयोजक केएफए आफैले हात पारेको छ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तामा शैलेन्द्र बजिमय ‘ठूले’, उत्कृष्ट गोल रक्षकमा रामकाजी राई र उत्कृष्ट प्रशिक्षकमा शैलेस बजिमय चयन हुनुभएको छ ।

उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार तथा अन्यलाई रु तीन÷तीन हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो र दोस्रो पुरस्कारको प्रायोजन मनोज स्मृति प्रतिष्ठान गरेको आयोजक केएफएका खेल प्रशिक्षक रोशेष श्रेष्ठले जानकारी दिनुभयो ।

मनोज स्मृति प्रतिष्ठान सह–आयोजक रहेको प्रतियोगितामा जिल्लाका विभिन्न क्लब तथा संस्थागरी दश टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि शहीद मनोज जोशीका आमा अम्बिका जोशी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

तेस्रो संस्करणको प्रतियोगितामा सहभागी हुने खेलाडीको हकमा ३५ वर्ष र कर्मचारीको हकमा २५ वर्षको उमेर हद राखिएको थियो । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पा भेट्रानले जितेको थियो ।

खेल क्षेत्रको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको केएफएले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यवसायिक बनाउने उद्देश्यले नौँदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई तालिमसमेत दिँदै आएको छ । एकेडेमीले उत्पादन गरेका खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालिमका लागि राजधानी काठमाडौँ पठाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया