खोटाङ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय महाधिवेशनमा खोटाङका रविन खम्बुले उपमहासचिवमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अखिल क्रान्तिकारीको निवर्तमान सचिवसमेत रहनुभएका खम्बुले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपमहासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
मूलुकको वर्तमान विद्यार्थी आन्दोलनलाई नयाँ रुपबाट विकास गर्न आफूले प्रदेश नं. १ बाट अखिल क्रान्तिकारीको २३ राष्ट्रिय महाधिवेशनमा उपमहासचिवको उम्मेदवारी घोषणा गरेको खम्बुले बताउनुभएको छ । “विद्यार्थी आन्दोलनलाई पुनः गठन गर्नका लागि र विद्यार्थी आन्दोलनलाई नयाँ जीवन दिनका लागि उपमहासचिव पदमा उम्मेदारी घोषणा गरेको छु” उहाँले भन्नुभयो, “नेकपा (माओवादी केन्द्र)को दश वर्षे महान् जनयुद्धबाट प्राप्त उपलब्धीहरु सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, पहिचानजस्ता महत्वपूर्ण एजेण्डालाई संस्थात गर्दै नेकपा (माओवादी केन्द्र)लाई २०६४ सालको शक्तिमा फर्काउन प्रदेश नं. १ बाट उपमहासचिवमा उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका सबै नेताहरुले साथ दिएका छन् । म विश्वस्त छु । मेरो जित सुनिश्चित छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा निवासी खम्बु दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । पहिचानको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका खम्बु वि.सं. २०७९ कातिक–१७ गते नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल क्रान्तिकारीमा समाहित हुनुभएको हो ।
तत्कालीन जनता समाजवादी पार्टी नेपालको प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्यको भूमिकासमेत निर्वाह गरिसक्नुभएका खम्बुले उपमहासचिवमा घोषणा गर्नुभएको उम्मेदवारीलाई निक्कै सशक्त मानिएएको छ । प्रत्येक प्रदेशबाट एक÷एक जना उपमहासचिव चयन गर्ने अखिल क्रान्तिकारीको विधानअनुसार आफूले प्रदेश नं. १ बाट उम्मेदवारी घोषणा गरेको खम्बुले बताउनुभएको छ ।
काठमाडौँमा जारी २३ औँ राष्ट्रिय महाधिवेशनमा खम्बुँगै खोटाङबाट एलबी मगरले समेत केन्द्रीय सदस्यमा उम्मेदारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरसमिति सदस्य परित्याग गरेर नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएका मगरको केन्द्रीय सदस्यको उम्मेदवारी जिल्लाबाट सर्वसम्मत पारिएको अखिल क्रान्तिकारी खोटाङका अध्यक्ष डार्विन चाम्लिङले जानकारी दिनुभएको छ ।
गत जेठ–२७ गते काँग्रेस परित्याग गरेर माओवादी केन्द्र प्रवेश गर्नुभएका मगरलाई पार्टीले अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य मनोनयन गरेको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका मगर पहिचानको आन्दोलनबाट स्थापित नेता हुनुहुन्छ ।
पहिचानको आन्दोलनका सहयात्री खम्बु र मगरले गर्नुभएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी घोषणालाई निक्कै महत्वका साथ हेरिएको छ । खम्बु र मगरे उम्मेदवारी घोषणा गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत जितको शुभकामना दिइरहेका छन् ।
यही असोज–१४ गतेसम्म सञ्चालन हुने अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय महाधिवेशनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् । राजधानी काठमाडौँमा जारी महाधिवेशन असोज–१० गते माओवादी केन्द्रका अध्यक्ष एवम् नेपाल सरकारका निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको हो ।