खोटाङ, १३ असोज । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल वि.सं. २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो । ठेकेदार कम्पनी गौरी–पार्वती–वाईपी जेभीले वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते सम्झौता गरेको फोक्सिङ्टार पुल दश वर्षपछि सञ्चालनमा ल्याइएको हो ।
खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै शनिबार आएको भीषण बाढीले बगायो । खोटाङ्गे जनताको दैनिकीसँग जोडिएको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लाहरुसँगको सिधा यातायात सेवा विच्छेद भएको छ ।
पुल निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीका कारण ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल निर्माणका लागि सडकदेखि सदनसम्म चौतर्फी दबाब दिँदा–दिँदा दश वर्षपछि पुल त बनेको थियो । तर, दुई वर्ष पनि उपयोग गर्न नपाउँदै बाढीले बगाएपछि समस्या ज्यूँका–त्यूँ भएको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल १२० मिटर लामो थिययो । दश वर्षपछि निर्माण सम्पन्न गरिएको फोक्सिङटार पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा निर्माण गरिएको हो ।
फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भित्र्याइन्थ्यो । तर, पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै काढीले बगायो । यो खोटाङ्गे जनताका लागि दुःखको कुरा हो”, उहाँले भन्नुभयो, “फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”
देशभर जनधनको क्षति गर्नेगरी आएको अविरल वर्षापछिको बाढीले आर्क डिजाइनको फोक्सिङटार पुल बगाएपछि निर्माणको जिम्मा लिने ठेकेदार कम्पनी तथा राजनीतिक दलका नेताहरुको ब्यापक आलोचना शुरु भएको छ । निर्माण गर्नुअघि ठेकेदारसँगको मिलेमतोमा गलत डिजाइन गरेर कमसल किसिमको मोटरेबल पक्की पुल बनाइएकाले बाढीले बगाएको उनीहरुको आरोप छ ।
दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम अलपत्र छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडकखण्ड कालोपत्रको काममा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण अलपत्र परेको हो ।
मध्यपाडी लोकमार्गबाट छुट्टिने महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको थियो । काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने उक्त सडक अहिले हिलो र खाल्डाखुल्डीका कारण अवरुद्ध छ ।
भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले वि.सं. २०७७ असार–२९ गते सम्पन्न गर्ने शर्तमा वि.सं. २०७३ असार–३० गते उक्त सडक कालोपत्र गर्न सडक विभागसँग योजनाको सम्झौता गरेको थियो । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत उक्त सडक कालोपत्रको काम पूरा नहुँदा जिल्लाबासी आक्रोसित छन् ।
रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको जनाइएको छ । देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको काम करीब ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागको अनुमान छ ।
रु ५५ करोड ८७ लाखमा वि.सं. २०७७ साउन–१० गतेभित्र कालोपत्र पूरा गर्ने शर्तमा वि.सं. २०७३ साउन–११ गते सो सडकखण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक निर्माणको काम ठप्प छ ।
शुरुदेखि नै काममा ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नै नगरी हिँडेको स्थानीयबासी एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो । “पछिल्लो समय थपिएको समयावधि गत वर्षको चैत मसान्तमा सकियो । ठेकेदार कम्पनीको लापरवाहीले सडक कालोपत्रको काम बीचैमा छाडेर अलपत्र पारेपछि अहिले यातायातका कुनै पनि सवारी साधन सञ्चालन हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “अवरुद्ध काम पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म सम्बन्धित निकायले कुनै चासो दिएको देखिँदैन । यसको प्रत्यक्ष मार समग्र जिल्लाबासीमा परेको छ ।”
सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको बिरोधमा स्थानीय बासिन्दाले वि.सं. २०७६ पुस–२० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउँन बाँकी रहेको वडाध्यक्ष राईले बताउनुभएको छ ।
ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । थपिएको सम्झौता मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग गरिएका औजार लिएर ठेकेदार कम्पनी निर्माणस्थलबाट हिँडिसकेका छन् ।