खोटाङ, १३ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा हिंसा पीडित महिलाका लागि सुरक्षित गृह (सेफ हाउस) स्थापना गरिएको छ । बाल सेवा समाज नेपाल नेर्पा खोटाङले दिक्तेलस्थित आफ्नै कार्यालय भवनको तीनवटा कोठा उपलब्ध गराएपछि सुरक्षित गृह सञ्चालनमा ल्याइएको हो ।
बाल सेवा समाज नेपाल नेर्पा खोटाङको २५ औँ साधारणसभा उद्घाटन कार्यक्रमको अवसरमा आइतबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोटमा मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले संयुक्तरुपमा सुरक्षित गृहको समेत उद्घाटन गर्नुभएको छ । उद्घाटन पश्चात सुरक्षित गृह सञ्चालनका लागि जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रूपेश सङ्ग्रौला र बाल सेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेलबीच दुईपक्षीय सम्झौतासमेत गरिएको छ ।
हिंसा पीडित महिलाको अवस्था र न्यायका लागि घरै छोडेर हिँड्नु परेको बाध्यतात्मक परिस्थितिलाई ध्यान दिएर दिक्तेलमा सुरक्षित गृह स्थापना गरिएको जिल्ला समन्वय प्रमुख राईले बताउनुभयो । पीडितलाई राज्यले संरक्षण दिनुपर्छ भन्ने मान्यताका साथ सुरक्षित गृह स्थापना गरेको प्रमुख राईको भनाइ छ ।
सुरक्षित गृहलाई जिल्ला अस्पताल खोटाङको आर्थिक तथा प्राविधिक सहयोगमा बाल सेवा समाज नेपालले व्यवस्थापन गर्ने दुई पक्षीय सहमति सम्झैतामा उल्लेख छ । जिल्ला अस्पताल खोटाङले बाल सेवा समाज नेपाललाई सञ्चालन तथा व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी दुई पक्षीय सम्झौता गरेर दिएको हो ।
घरेलु हिंसा तथा विभिन्न कारणले समस्यामा परेर उद्दार गरिएका पीडित महिलालाई आपतकालीन अवस्थामा राख्ने व्यवस्थाका लागि सुरक्षित गृह स्थापना गरिएको बाल सेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेलले बताउनुभयो । “सुरक्षित गृहमा आश्रय लिन आउने हिंसा पीडित महिलाका लागि खान, बस्न तथा कानूनी सहायता बाल सेवा समाज नेपालले दिन्छ । यसका लागि आवश्यक खर्चको व्यवस्था अस्पतालले छ”, उहाँले भन्नुभयो, “सुरक्षित गृह सञ्चालनमा आएसँगै आगामी दिनमा कोही पनि महिलाले अन्याय सहेर बस्नुपर्ने छैन । बाल सेवा समाज नेपालले सुरक्षित गृह सञ्चालनको जिम्मेवारी लिए पनि सबैसँग सहकार्य गरेर गर्ने योजना बनाएका छौँ ।”
उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले जिल्लामा पहिलो पटक स्थापना गरिएको सुरक्षित गृह अत्यावश्यक रहेको बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री, जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर रूपेश सङ्ग्रौला, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईं, करुणा फाउन्डेसनका कार्यक्रम संयोजक संयोग खतिवडा, गैरसरकारी सस्था महासङ्घ खोटाङका अध्यक्ष युवराज रिजाल लगायतले शुभकामना दिएका छन् ।