खोटाङ, १४ असोज । अविरल वर्षाका कारण भत्किएका संरचना तत्काल पुनः निर्माण गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको छ । यही असोज–९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण गाउँपालिका क्षेत्रभित्र ठूलो क्षति भएको र गाउँपालिकाको स्रोतमात्र पुनः निर्माण नसकिने भन्दै गाउँपालिका प्रमुख राईले आर्थिक सहायताका लागि मुख्यमन्त्री कार्की र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
अविरल वर्षाका कारण गाउँपालिकाभित्रका रमाइलो–पञ्चमी–काल्सिङ खोला सडक, रेग्मीटार–पञ्चमी सडक, खानीडाँडा–याम्खा–पञ्चमी–चिप्रिङ सडक, तावाखोला–याम्खा–पञ्चमी सडक, दिलैची–टेम्मा–ओख्रे सडकमा क्षति पुगेको गाउँपालिका प्रमुख राईले बुझाउनुभएको ज्ञापनपत्रमा उल्लेख छ । चाडपर्वको मुखमा सडक बिग्रिँदा दैनिक जीवन र चाडपर्वमा समेत प्रभाव पार्ने हुँदा यी सडकहरू मर्मतका लागि रू ५० लाख आपतकालीन बजेट विनियोजन गर्न गाउँपालिका प्रमुख राईले ज्ञापनपत्रमार्फत मुख्यमन्त्री कार्की र भौतिक पूर्वाधारमन्त्री राईलाई अनुरोध गर्नुभएको हो ।
वर्षा रोकिएलगत्तै असोज–१३ गते नै विराटनगर पुग्नुभएका गाउँपालिका प्रमुख राईले मुख्यमन्त्री कार्कीलाई भेटेर र भौतिक पूर्वाधारमन्त्री राईलाई टेलिफोनमार्फत अनुरोध गर्नुभएको जनाइएको छ । कोशी प्रदेशका वर्तमान भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई सोही गाउँपालिकाका निवर्तमान गाउँपालिका प्रमुख हुनुहुन्छ ।