वैकल्पिकरुपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँ बस सेवा

Halesi Khabar
70 Shares

खोटाङ, १५ असोज । खोटाङ यातायात प्रा.लि.ले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । दशैँ, तिहार तथा छट पर्वको पूर्वसन्ध्यामा बाढी तथा पहिरोले मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिकरुपमा भोलि (असोज–१६ गते)देखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने भएको हो ।

दशैँअघि दिक्तेल–घुर्मी–खुर्कोट–काठमाडौँ सडक पुनः सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिकरुपमा भोलि (असोज–१६ गते)देखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । “यही असोज–१२ गतेसम्म परेको भीषण वर्षाका कारण बाढी तथा पहिरो जाँदा मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ । दशैँअघि दिक्तेल–घुर्मी–खुर्कोट सडक पुनः सञ्चालनमा आउने सम्भावना छैन”, उहाँले भन्नुभयो, “सडक अवरुद्धका कारण दशैँ तथा तिहार मान्न घर फर्कने हजारौँ यात्रु काठमाडौँमा रोकिएका छन् । उनीहरुको सुविधाका लागि वैकल्पिकरुपमा घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो ।”

दिक्तेलबाट काठमाडौँ तथा काठमाडौँदेखि दिक्तेलसम्मको एकतर्फी भाडा प्रति व्यक्ति रु दुई हजार ५०० तोकिएको खोटाङ यातायात प्रा.लि. का काउण्टर ईन्चार्ज अमिर अधिकारीले जानकारी दिनुभयो । दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँ पुग्नका लागि करिब १५ घण्टा बसमा यात्रा गर्नुपर्ने भएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँ पुग्नका लागि दिक्तेल–घुर्मी–खुर्कोट–काठमाडौँभन्दा दोब्बर लामो हुने जनाइएको छ । लामो दूरी भएपनि चाड मान्न घर फर्कने यात्रुहरुको बाध्यतालाई मध्यनजर गरेर खोटाङ यातायात प्रा.लि.ले दिक्तेल–घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौँसम्मको बस सेवा सञ्चालन गर्ने भएपछि राहत मिल्ने अनुमान गरिएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत खोटाङबाट पूर्वी तराईका जिल्लाहरु जोड्ने दिक्तेल–गाईघाट सडक भने, दशैँ, तिहार तथा छट पर्वअघि सञ्चालन नहुने निश्चित भएको छ । यही असोज–१२ गते शनिबार दिउँसो आएको बाढीले सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि दिक्तेल–गाईघाट सडकखण्ड भएर पूर्वी तराई जोड्ने यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

बाढी तथा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गतकै दिक्तेल–जयरामघाट सडकखण्डको अवरोघ भने, हटाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र ७ महादेवस्थान बर्खेटारको पहिरो हटाइएपछि सोमबार साँझदेखि दिक्तेल–कटारी–बिराटनगर यातायात सञ्चालनमा आएको हो ।

पहिरो पन्छाइएसँगै दिक्तेल–घुर्मी–कटारी हुँदै विराटनगरसम्मको बस मङ्गलबारदेखि नियमितरुपमा सञ्चालन गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव हिङमाङले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्ग अन्तरगतकै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको अवरोध हटाउनेबारे अध्ययन गर्न प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोली चखेवा पुगेको छ ।

बाढी तथा पहिरोले अवरुद्ध जिल्लास्थित ग्रामीण सडक पनि खुलिसकेका छैनन् । अवरुद्ध सडक दशैँ, तिहार तथा छट पर्वअघि नै पुनः सञ्चालनमा ल्याउनेगरी सम्बन्धित स्थानीय तहले काम गरिरहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया