पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइयो

Halesi Khabar
322 Shares

खोटाङ, १९ असोज । अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध बनेको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आज (शनिबार) खुलाइएको हो ।

हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “अवरुद्ध सडक खुलाउन दिनरात नभनी दुईवटा डोजर प्रयोग गरेका थियौँ । तीन दिन लगाएर पहिरो पन्छाइएपछि रोकिएका सबै गाडीहरु पार गराइएको छ”, उहाँले भन्नुभयो, “पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि गाडीमा सवार एक हजारभन्दा बढी यात्रु अलपत्र पर्नुभएको थियो । पहिरो पन्छाएर सडक खेलेसँगै अलपत्र परेका यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।”

सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ तथा तराईका विभिज्ज जिल्लाबाट खोटाङ आएका साना तथा ठूला यातायातका सवारी साधन (गाडी) जयरामघाट, डौँठेखेला र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसी, च्यास्मिटार लगायतका ठाउँहरुमा रोकिएका थिए । पहिरोले सडक अवरुद्ध भएर बीच सडकमा गाडी रोकिएपछि त्यसमा सवार एक हजारभन्दा बढी यात्रुहरु अलपत्र परेका थिए ।

दिक्तेल–हलेसी–जयरामघाट हुँदै राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडक पटकपटक अवरुद्ध हुँदै आएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडकलाई निर्वाधरुपमा सञ्चालन गर्ने प्रयास गरिएको छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेर मर्मत कार्य शुरु गरिएको छ ।

मध्यपहाडी लोकमार्ग बाहेक जिल्लाका सबै स्थानीय तहहरुसँग जोडिएका अन्य सबै ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । दशैँतिहार मान्न राजधानी काठमाडौँ तथा तराईका विभिन्न शहरबाट घर फर्किएका स्थानीय बासिन्दालाई सहजरुपमा घरसम्म पुग्ने वातावरण मिलाउन जिल्लाका दशवटै स्थानीय तहले अवरुद्ध सडक मर्मत शुरु गरेपनि अहिलेसम्म सम्भव भएको छैन ।

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा ल्याउन १५ दिनअघिबाटै पहल थालिएपनि अविरल वर्षाका कारण सम्भव नभएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् । दशैँतिहारअघि सबै ग्रामीण सडक सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समितिले समेत आग्रह गरेको थियो ।

अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएपछि दशैँतिहार मान्न विभिन्न हशरबाट घर फर्किएका स्थानीय बासिन्दा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घण्टौँ पैदल यात्रा गर्न बाध्य भएका छन् । ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि जिल्लाका यातायात व्यवसायीहरुसमेत मारमा परेका छन् ।

ग्रामीण सडकमा यातायात सञ्चालन नभएपछि अधिकांश यातायातका सवारी साधन दिक्तेल बजारमै थन्क्याएर राखिएका छन् । कमाइ हुने समयमा समेत अवरुद्ध सडकका कारण यातायातका सवारी साधन थन्क्याएर राख्नुपर्दा व्यवसायीलाई ठूलो क्षति भएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया