खोटाङ, २० असोज ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न जिल्लास्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका रविन सुनुवार प्रथम हुनुभएको छ । जिल्लाका विभिन्न स्थानीय तहका २४ जना बुद्धिचाल खेलाडी सहभागी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका निशान राईलाई हराउँदै सुनुवार प्रथम हुनुभएको हो ।
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा आज (आइतबार) सम्पन्न प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका भूपाल राई तृतीय हुनुभएको छ । प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु सात हजार ७७७, रु चार हजार ४४४ र तेस्रो हुनेले रु दुई हजार २२२ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यसमितिका सचिव रणजङ राईले जानकारी दिनुभएको छ ।
बाघचालतर्फको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रभुराम राई प्रथम, रावाबेँसी गाउँपालिका–२ खार्पाका गोविन्द मगर द्धितीय र नेर्पाकै हरिभक्त राई तृतीय हुनुभएको छ । जिल्लाका १६ जना बाघचाल खेलाडी सहभागी प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु पाँच हजार ५५५, रु दुई हजार २२२ र रु एक हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
टेबलटेनिसतर्फको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका विवेक आचार्य, सोही वडाका राजेशराज आचार्य द्धितीय र वडा नं. १२ जालपाका मौषम विश्वकर्मा तृतीय हुनुभएको छ । जिल्लास्थित विभिन्न स्थानीय तहका ३६ जना टेबलटेनिस खेलाडी सहभागी प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडीलाई क्रमशः नगद रु दश हजार, रु छ हजार र रु तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक नेपाल तरुण दलले जनाएको छ ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, तरुण दलका केन्द्रीय सदस्य भीषण राई लगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । जिल्लामा टेबलटेनिस, बुद्धिचाल र बाघचाल जस्ता खेलहरु लोप हुँदै गएकाले संरक्षण र प्रवद्र्धन गर्न दशैँ, तिहार, छठ तथा नेपाल सम्वत्को अवसर पारेर जिल्लास्तरीय प्रतियोगता आयोजना गरिएको आयोजक नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यसमिति अध्यक्ष दिवासन राईले जानकारी दिनुभएको छ ।