प्राकृतिक विपत्तिमा खोटाङ : स्थानीयबासीमा छैन चाडपर्वको उमङ्ग

Halesi Khabar
70 Shares

खोटाङ, २१ असोज । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका पहिरो विस्थापित दिनेश राईको छ जनाको परिवार स्थानीय चर्चमा बसिरहेका छन् । यही असोज–१२ गते दिउँसो झरेको पहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री बगाएपछि विस्थापित बनेका राई परिवारलाई जयरामघाटका स्थानीय बासिन्दा तथा प्रहरीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको हो ।

अविरल वर्षासँगै झरेको पहिरोबाट विस्थापित बनेका उनीहरुको परिवारलाई तत्कालका लागि खाने तथा बस्ने व्यवस्था नगरपालिका र वडा कार्यालय बाहुनीडाँडाले मिलाइ दिएको छ । घरमाथिबाट झरेको पहिरोले ढुङ्गामाटोले बनेको तीनतले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको राई परिवार पूर्णरुपमा विस्थापित भएका हुन् ।

असोज–१२ गतेको पहिरोले राई परिवारजस्तै जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने ३३ परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई स्थानीय बासिन्दा तथा नजिकको प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरेर सुरक्षित ठाउँमा राखेका छन् ।

बाढी तथा पहिरोबाट विस्थापित उनीहरुलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गरायो तर, जीवनभर उपलब्ध गराउन सक्ने अवस्था छैन । हाम्रो समाजमा चाडपर्वको अवसर पारेर स–परिवार भेला भएर मिठोमसिनो पकाएर खाने तथा छोराछोरीलाई राम्रो लुगा लगाइ दिने चलन छ ।

बाढी तथा पहिरो पीडित परिवारका लागि यस वर्षको चाडपर्वमा यी सबै सम्भवना तथा अवसरहरु पूर्णरुपमा बन्द भएको छ । यतिसम्म कि, उनीहरुका लागि सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री उपभोग गरिसकेपछि के खाउँ, के लाउँको अवस्था सिर्जना हुनेछ ।

बाढी तथा पहिरोले जिल्लाबासी सबैलाई ठूलो क्षति पु¥याएको जिल्ला विपद् व्यवस्थापन समिति खोटाङका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले मानवीय क्षति नभएपनि सडक तथा मोटरेबल पुलहरु पूर्णरुपमा अवरुद्ध बनेका छन् भने, बालीनाली सखाप बनाएको छ । प्राकृतिक विपत्तिमा सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छौँ”, उहाँले भन्नुभयो, “चाडपर्वलाई लक्षित गरेर अवरुद्ध सडकहरु पुनः सञ्चालनमा ल्याउनका लागि पहल गरिरहेका छौँ । तर, दशैँअघि सञ्चालनमा आउने सम्भवना कम देखिन्छ । यद्यपि, सम्बन्धित निकायलाई खबरदरी गरिरहेका छौँ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका राजकुमार राईका चार छोरा र दुई छोरी छन् । जेठा छोरा दीपेन्द्र गाईघाट, जेठी छोरी अञ्जु धरान तथा माहिला छोरा उपेन्द्र, कान्छा छोरा प्रदीप र कान्छी छोरी मनिशा काठमाडौँ बस्छन् । साहिला सुदीप वैदेशिक रोजगारीमा छन् । उनीहरुमध्ये कान्छा छोरा प्रदीपले मात्रै दशैँमा बुबाआमाको हातबाट टीका थाप्न पाउने भएका छन् । काठमाडौँमा बसेर गीत÷सँगीतसँगै अध्ययन गरिरहेका प्रदीप असोज–१२ गतेभन्दा अघि नै घर आएका हुन् ।

अविरण वर्षाका कारण सडक तथा पुलपुलेसा बगाएपछि यस वर्ष चाड मान्न घर आउन नपाएको दीपेन्द्रले बताउनुभयो । “बुबाआमासँगै बसेर चाड नमनाएको धेरै वर्ष भयो । यस वर्ष घर आउने योजनामा थियौँ । बाढी तथा पहिरोले सडक तथा पुल बगायो भन्छ”, परिवारसहित गाईघाटमा बसेर होटल व्यवसाय गर्दै आउनुभएका उहाँले भन्नुभयो, “घरमा कार्जे (कुलपितृ गर्ने कार्यक्रम) पनि छ रे ! बाटोको कारण आउन नसकिने भो ! अब हिउँद्तिर आउनुपर्ला भन्ने योजनामा छु ।”

बाढी तथा पहिरोबाट जिल्लामा सञ्चालित विकासे योजना बाहेक मानिसका घरमा भएको क्षतिमात्र रु एक करोडभन्दा बढीको भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । दशैँ, तिहार तथा छट पर्वको पूर्वसन्ध्यामा आएको बाढी तथा पहिरोले जिल्लामा सञ्चालित विकासे योजनाहरु खानेपानी, सिँचाइ, विद्युत लगायतमा समेत ठूलो क्षति पुगेको कार्यालय प्रमुखहरुले बताएका छन् ।

चाड वर्षको समयमा आएको यो वर्षको बाढी तथा पहिरोले जिल्लामा व्यापार÷व्यवसायमा समेत ठूलो असर गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । “चाडपर्वको अवसरमा करोडौँको व्यापार हुनुपर्ने हो । धेरै मानिस त बाटोको कारण आउनै सकेका छैनन् । अधिकांश युवापुस्ता बाहिरी जिल्लामा बसोबास गर्छन् । घरमा बुढापामात्र छन्”, उहाँले भन्नुभयो, “अध्ययन तथा रोजगारीको सिलसिलामा शहर÷बजारमा रहेका छोराछोरी आउन नपाएपछि बुढापाका समेत चाडपर्वको उमङ्ग छैन । छोराछोरी नै घर आउन नपाएपछि बुढापाले केका लागि सामान खरिद गरोस् र हाम्रो व्यापार हुन्थ्यो ! जे होस् मानवीय क्षति भएको छैन त्यसैमा खुशी हुनुपर्छ ।”

भीषण बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल तथा खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुलमा क्षति पुगेको छ । वि.सं. २०७९ सालमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको फोक्सिङटारको मोटरेबल पक्की पुल तथा अन्य पाँचवटा झोलुङ्गे पुलहरु गत शनिबार दिउँसो आएको बाढीले बगाएको हो ।

दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

अविरल वर्षाका कारण अवरुद्ध बनेका जिल्लाका सबै ग्रामीण सडक अझै सञ्चालनमा आएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

 

 

तपाईको प्रतिक्रिया