खोटाङ, २१ असोज । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीमा आवद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर राईलाई जनही नगद रु पाँच हजार ५०० को साथमा प्रमाणपत्रसहित सम्मान गरेको हो ।
अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्नाले समाजमा बिकृति सिर्जना हुँदै गएकाले न्यूनीकरण गर्न प्रोत्सहनस्वरुप सेवन गर्न छाड्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको सहकारी संस्थाका सहप्रबन्धक तेजबहादुर राईले जानकारी दिनुभयो । “अत्यधिक मात्रामा पादक पदार्थ सेवनले समाजमा झैझलगडा हुनुका साथै परिवारसमेत बिखण्डन हुने गरेका धेरै घटनाहरु छन् । त्यसलाई न्यूनीकरण गर्दै उत्पादनमूलक क्षेत्रमा लाग्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान अभियान थालेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा सहकारीमा आवद्ध शेयर सदस्यहरुबीचमा यो कार्यक्रम लागू गर्छौँ । त्यसपछि क्रमशः गाउँटोलका अन्य घरमा समेत अभियानकै रुपमा कार्यक्रम लैजाने योजना छ ।”
होराखाका स्थानीय ३० जना युवाको सक्रियतामा वि.सं. २०६५ सालमा स्थापना गरिएको कृषि सहकारी संस्थाले शुरु गरेको मादक पदार्थ बिसर्जन अभियान ग्रामीण समाजका लागि प्रभावकारी हुनेमा आफूहरु विश्वस्त रहेको स्थानीयबासी एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता अमर श्रेष्ठले बताउनुभयो । सहकारीले दशैँ, तिहार तथा छट पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि सोल्माका वडाध्यक्ष ध्रुबविक्रम राईले मादक पदार्थ सेवान गर्न छाड्ने तीनजना सदस्यलाई खादा र प्रमाणपत्रसहित अबिर लगाइदिएर सम्मान गर्नुभएको हो ।
बेरोजगार युवालाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित ३० जना होराखा निवासी शेयर सदस्यहरुले सङ्कलन गरेको रु ३० हजारबाट शुरु गरिएको सहकारी संस्थाको कूल पुँजी अहिले रु दश लाख पुगेको सहकारीका सदस्य सचिव एवम् प्रबन्धक भक्तबहादुर दाहालले जानकारी दिनुभयो । “प्रत्येक महिनाको २ गते सहकारीको नियमित बैठक बस्छौँ । शेयर सदस्यहरुबीच मासिक रु १०० देखि रु एक हजारसम्म बचत गर्दा अहिले सहकारीको कूल पुँजी रु दश लाख पुगेको छ”, उहाँले भन्नुभयो, “आवश्यकता र स्रोत सुनिश्चिताको आधारमा ऋण प्रवाह गर्ने गरिएको छ । पछिल्लो समय सहकारी संस्थामा आवद्ध सबै शेयर सदस्यहरु व्यवसायिक बनेका छौँ । यसले घर खर्च चलेको छ ।”
कृषि सहकारीमा आवद्ध शेयर सदस्यहरुले आफैले बचत गरेको रकमले तरकारी तथा फलफूल खेती, माछा, कुखुरा तथा बङ्गुर पालन, व्यापार÷व्यवसाय लगायतमा लगानी गरेका छन् । आफैले सहकारीमा जम्मा गरेको बचत रकम ऋण लिएर गरेको लगानीबाट सञ्चालन गरिएको व्यापार÷व्यवसायबाट छोराछोरीको पढाइ तथा घर खर्च चलाउने माध्यम बनेको शेयर सदस्यहरुले बताएका छन् ।
सहकारीले उत्पादनमूलक कामसँगै भैपरी आउने प्राकृतिक विपत्ति, दुर्घटना, आगलागी तथा आर्थिक अवस्था कमजोर भएका शेयर सदस्य बिरामी भएको खण्डमा उपचार खर्चसमेत उपलब्ध गराउँदै आएको छ । प्राकृतिक विपत्ति तथा आर्थिक अवस्था कमजोर भएका शेयर सदस्यलाई उपचारका लागि बाहिरी जिल्ला जानु परेको खण्डमा सहयोगस्वरुप रु पाँच हजार उपलब्ध गराउने गरिएको जनाइएको छ ।
सचेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएको कृषि सहकारी संस्थाको आफ्नै कार्यालय भवनसमेत बनाइएको छ । कृषि सहकारी भएपनि अहिलेसम्म राज्यको बिना लगानी सञ्चालनमा रहेको ‘तीन टोलिया कृषि सहकारी संस्था’लाई तत्कालीन जिल्ला कृषि विकास कार्यालय खोटाङले वि. सं. २०६६ सालमा उत्कृष्ट कृषि सहकारी संस्थाको रुपमा रु एक लाख राशीको पुरस्कार प्रदान गरेको थियो ।