बाढीले फोक्सिङटार पुल बगाएपछि झोलुङ्गे पुलहरु मर्मत गर्दै स्थानीय सरकार

Halesi Khabar
224 Shares

खोटाङ, २३ असोज । असोज–१२ गते आएको भीषण बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलहरुको मर्मत कार्यलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङङारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि विकल्पकोरुपमा आवतजावत गर्ने वातावरण मिलाउन जिल्लाका क्षतिग्रस्त झोलुङङगे पुलहरुको मर्मत कार्यलाई तीव्रता दिइएको हो ।

खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित बङ्शिलाघाट, धाप्लाङघाट र भण्डारेघाटमा जडान गरेर सञ्चालन गरिएको झोलुङ्गे पुलहरुमा बाढीले क्षति गरेको थियो । दशैँको टीकाअघि सुनकोशीस्थित तीनवटै घाटको झोलुङ्गे पुल पुनः सञ्चालनमा ल्याउनेगरी मर्मत कार्यलाई तीव्रता दिइएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र उदयपुरको रौतामाई गाउँपालिका–३ चनौटेस्थित सुनकोशी नदीको भण्डारेघाटको झोलुङ्गे पुल पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइसकिएको जनाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले रु एक लाख ४५ हजार रकम उपलब्ध गराएपछि तारजाली तथा आवश्य पर्ने सामाग्री खरिद गरेर क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिएको हो ।

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित मोटरेबल पक्की पुलको विकल्पमा भण्डारेघाटको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “हाम्रो दैनिकीसँग जोडिएको फोक्सिङङार पुल बाढीले बगाएपछि तराईसँगको सिधा सम्पर्क विच्छेद भएको छ । यो जिल्लाबासीको निम्तिसमेत ठूलो क्षति हो”, उहाँले भन्नुभयो, “फोक्सिङटार पुलका कारण निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु ढुवानीका निम्ति ठूलो असर पुगेको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

सगरमाथा राष्ट्रि«य राजमार्गअन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

उता, मोटरेबल पक्की पुलको योजनासमेत शुरु भएको धाप्लाङघाटमा ठेकेदारको लापरबाहीले पक्की निर्माण नहुँदा झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । वि.सं. २०७४ भदौ–३१ गते तत्कालीन प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको धाप्लाङघाटको मोटरेबल पुल अहिलेसम्म अलपत्र अवस्थामा छ ।

रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुलको पिलर नदीको पानीले जग कटान गर्दै गएपछि बाङ्गिसको छ । वि.सं. २०७६ सालमै बनिसक्नु पर्ने मोटरेबल पुलको दुवैतर्फ पिलरमात्र ठड्याइएको थियो ।

निर्माणाधीन मोटरेबल पक्की पुलको काम अलपत्र भएपछि खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटको झोलुङ्गे पुलको मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो । “बाढीले पुलको लठ्ठा चुडिँनुका साथै ठाउँ–ठाउँमा भ्वाङ परेर आवजाव गर्नै नमिल्नेगरी क्षति पुगेको थियो । गाउँपालिकाले तारजाली उपलब्ध गरायौँ”, उहाँले भन्नुभयो, “स्थानीयबासीले मर्मत गरेर पुनः सञ्चालनमा ल्याएका छन् । अहिले मोटरबाइकसमेत आवतजात गराउन मिल्ने भएको छ ।”

जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने सुनकोशी नदीकै मैनाटार, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट र खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाटको झोलुङ्गे पुलहरु मर्मत कार्य भइरहेका छन् । मर्मत कार्य भइरहेका तीनवटै ठाउँका झोलुङ्गे पुलहरु दशैँको टीकाभन्दा अगाडि नै सञ्चालनमा ल्याउनेगरी तीव्रता दिइएको जनाइएको छ ।

चाडपर्वको पूर्वसन्ध्यामा आएको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका जिल्लाका आधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन् । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुहरु बीच सडकमै अलपत्र परेको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन मध्यपहाडी लोकमार्ग तथा सम्बन्धित स्थानीय तहले मेसिन प्रयोग गरिएका छन् ।

तपाईको प्रतिक्रिया