चाडपर्व लक्षित सुरक्षा योजना : आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न उच्च सतर्कता

Halesi Khabar
56 Shares

खोटाङ, २४ असोज । जिल्ला सुरक्षा समिति खोटाङले चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना निर्माण गरेको छ । हिन्दु नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छट पर्वको अवसरमा हुन सक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति खोटाङले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको हो ।

चाडपर्वको मौकामा हुन सक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न तीनवटै सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । “नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो । चाडपर्वको अवसर पारेर मौका छोप्नेहरु पनि हुन्छन् । त्यसलाई न्यूनीकरण गर्न चौबिसै घण्टा प्रहरी गस्ती, जिल्ला प्रहरी कार्यालय खोटाङको १०० नम्बरको हटलाईन सेवा सञ्चालन तथा बजार अनुगमन र यात्रु सहायता कक्षहरु सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो, “आपराधिक गतिविधि गर्ने जो कोहीलाई कारबाही हुन्छ । यसका लागि नागरिकले पनि सुरक्षा निकायलाई सहयोग गर्नुपर्छ ।”

चाडपर्वको समयमा यातायातका सवारी साधनले बढी भाडा लिएको खण्डमा तत्काल प्रहरीलाई खबर गर्नसमेत जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ । दशैँ, तिहार तथा छट पर्वको अवसरमा आवतजावत गर्ने यात्रुको सहज यात्राका लागि जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई अनिवार्य टिकट काट्न तथा यात्रा गर्ने सबै यात्रुलाई अनिवार्य टिकट दिएरमात्रै सवारी साधन चलाउन यातायात व्यवसायीलाई आग्रह गरिएको छ । जिल्लामा सञ्चालित विशेषगरी कतिपय जीपले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने तर, टिकट नदिने जनगुनासो आएकाले टिकट अनिवार्य गर्ने निर्णय गरिएको प्रजिअ कार्कीले बताउनुभयो ।

जिल्ला सुरक्षा समिति खोटाङले चाडपर्वको अवसर पारेर जुवाजन्य खेल नखेल्न तथा नखेलाउनसमेत जिल्लाबासीलाई आग्रह गरेको छ । यदि, सुरक्षा समितिको आग्रहलाई अटेरगरी जुवाजन्य खेल खेल्ने तथा खेलाउने गरेको पाइएमा कानूनबमोजि कडा कारबाही गरिने प्रजिअ कार्कीले जानकारी दिनुभएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा जुवाजन्य खेल हुने सम्भावित ठाउँहरु पहिचान गरेर नियन्त्रणका लागि चौबिसै घण्टा प्रहरी गस्ती टोली परिचालन गरिएको जनाइएको छ । यसका साथै सादा पोशाकका प्रहरी टोलीसमेत परिचालन गरिएको जिल्ला सुरक्षा समितिका सदस्य एवम् जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले जानकारी दिनुभयो ।

यस्तै, मदिराजन्य पदार्थ सेवन गरेर होहल्ला गर्ने तथा झैझगडा हुने ठाउँहरुको समेत पहिचान गरेर सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । अघिल्ला वर्षहरुको चाडपर्वमा भएका घटनालाई मध्यनजर गरेर यस वर्ष सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ कार्कीले जानकारी दिनुभयो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा पुगेर नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार, शान्तिपूर्ण समाज निर्माणमा समुदायको भूमिका, ट्राफिक नियम पालना, समुदाय–प्रहरी साझेदारी कार्यक्रम लगायतका बारेमा सचेतनामूलक कार्यक्रमहरुसमेत सञ्चालन गरिरहेको छ । सार्वजनिक महत्व एवम् कानूनी सहायता सम्बन्धमा सचेतनामूलक कार्यक्रमका साथै नागरिकबाट आएको गुनासो, सामुहिक रुपमा उठेका विषयहरु, सल्लाह–सुझाव र धारणालाई सम्बोधन गर्न सचेतनामूलक अभियान सञ्चालन गर्ने गरिएको प्रनाउ बिस्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया