बाढीपहिरो पीडितको अवस्था : आफन्त, छिमेकी तथा विद्यालयमा दशैँ मनाउन बाध्य

Halesi Khabar
21 Shares

खोटाङ, २५ असोज । बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ घर परिवारका १३५ जनाले यस वर्षको दशैँ उल्लासका साथ मनाउन पाएनन् । चाडपर्वको पूर्वसन्ध्यामा आएको बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री गुमाएर विस्थापित भएका उनीहरूमध्ये कतिपय आफन्त, छिमेकी, विद्यालय तथा सार्वजनिक स्थलहरूमा बसेर दशैँ मनाइरहेका छन् ।

यही असोज–१२ गते आएको भीषण बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ घर विस्थापित भएका छन् । बङ्सिलाघाटका गुञ्जमान राई, प्रेमकुमार राई, दीपक राई, प्रेम राई, तेजहादुर, रुद्रबहादुर र मानबहादुर खड्का, विनोद राई, हीरा राई, बलराम राई, रिषीधन राई, मानबहादुर मगर लगायत १४ घर स्थानीयबासी विस्थापित भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयबासी एवम् नेपाली काँग्रेस बराहपोखरी गाउँपालिका कार्यसमितिका सभापति खिलाराज राई ‘दीपक’ले जानकारी दिनुभयो । “असोज–१२ गते सुनकोशीमा आएको बाढीले आसपासका स्थानीयको घरमा ठूलो क्षति गरेको छ । उनीहरुलाई तत्कालै गाउँपालिकाको तर्फबाट उद्धार गरेर सुरक्षित ठाउँमा सा¥यौँ”, कार्यपालिका सदस्यसमेत रहनुभएका उहाँले भन्नुभयो, “सुनकोशीमा आएको भीषण बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्र गुमाएका उनीहरुलाई राहतसमेत उपलब्ध गरायौँ । चाडपर्वको पूर्वसन्ध्यामा परेको प्राकृतिक बिपत्तिका कारण उनीहरुको लागि अहिले दशैँ न तिहार भएको छ ।”

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाट र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा सात÷सात घर स्थानीयबासी विस्थापित भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा दुई घर, रावाबेँसी गाउँपालिका–६ हौँचुरमा एक घर परिवार पहिरोबाट विस्थापित भएका छन् ।

पहिरोले विस्थापित भएकाहरूमध्ये चन्द्रबहादुर राई छिमेकी सुनिल राईको घरमा, टेकुराम राई छिमेकी भीमबहादुर माझीको घरमा र सुमित्रा राईले काठमाडौँमा दशैँ मनाइरहेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ बहादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएपछि सुमित्रा राईको परिवारै काठमाडौँमा भएको आफन्तकोमा दशैँ मनाउन जानुभएको छ । अन्यको चाहिँ यो वर्षको दशैँ छिमेकीका घरमा भइरहेको छ”, उहाँले भन्नुभयो, “उनीहरुका लागि वडासँगको समन्वयमा खाने र बस्ने व्यवस्था मिलाइएको छ । दशैँ, तिहार तथा छट पर्व सकिएपछि आवास निर्माणको पहल गर्ने योजनामा छौँ ।”

बाढीपहिरोले घर तथा घरमा भएका सबै बन्दोबस्तीका सामग्री गुमाएपछि अर्कै ठाउँमा आश्रय लिएर बसिरहेका विस्थापित परिवारले यस वर्षको दशैँ दुःखका साथ मनाइरहेका छन् । बाढीपहिरो विस्थापितहरुलाई सम्बन्धित स्थानीय तहले राहतस्वरुप उपलब्ध गराएको सामान्य खानाका लागि दाल, चामल र नुनतेल तथा बस्नका लागि कम्बल र तन्ना बाहेक अन्य बन्दोबस्तीका सामान केही छैन ।

बाढी तथा पहिरोबाट विस्थापित उनीहरुलाई सम्बन्धित स्थानीय तहले तत्कालका लागि राहत त उपलब्ध गरायो तर, जीवनभर उपलब्ध गराउन सक्ने अवस्था छैन । हाम्रो समाजमा चाडपर्वको अवसर पारेर स–परिवार भेला हुने र मिठोमसिनो पकाएर खाने तथा छोराछोरीलाई राम्रो लुगा लगाइ दिने चलन छ ।

बाढी तथा पहिरो पीडित परिवारका लागि यस वर्षको चाडपर्वमा यी सबै सम्भवना तथा अवसरहरु पूर्णरुपमा बन्द भएको छ । यतिसम्म कि, उनीहरुका लागि सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको खाद्यान्न तथा बन्दोबस्तीका सामग्री उपभोग गरिसकेपछि के खाउँ, के लाउँको अवस्था सिर्जना हुनेछ ।

बाढीपहिरो पीडितलाई तत्कालका लागि स्थानीय सरकारले सामान्य खाने तथा बस्ने व्यवस्था मिलाए पनि दीर्घकालीन योजना बनाउनुपर्ने अवस्था आएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो । “चाडपर्वको पूर्वसन्ध्यामा परेको प्राकृतिक प्रकोपमा पर्नु भएकाहरूलाई स्थानीय सरकारले सामान्य खान, बस्नका लागि बासको व्यवस्था त मिलाएको छ । यो दीर्घकालीन समाधान होइन”, उहाँले भन्नुभयो, “घर निर्माण लगायतका दीर्घकालीन योजना निर्माण र कार्यान्वयनका लागि पहल गर्नुपर्ने देखिएको छ । यसप्रति प्रदेश र सङ्घीय सरकारले ध्यान दिन जरुरी छ ।”

बाढीपहिरो पीडित परिवारका लागि मात्र नभइ यस वर्षको दशैँ, तिहार तथा छट पर्व समग्र जिल्लाबासीका लागि खल्लो भएको छ । जागिर तथा अध्ययनको लागि राजधानी काठमाडौँ लगायतका शहर बजारमा बसोबास गर्दै आएका आफन्त सडक अवरुद्धका कारण यस वर्षको दशैँ तथा तिहारमा घर फर्कन पाएनन् ।

अविरल वर्षापछि आएको भीषण बाढीले दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

अविरल वर्षाका कारण आएको भीषण बाढी तथा पहिरोले अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया