६९ औँ प्रहरी दिवस : आपराधिक घटना न्यूनीकरणमा प्रहरीको भूमिका प्रशंसनीय

Halesi Khabar
77 Shares

खोटाङ, ३० असोज । समाजमा हुने आपराधिक घटना न्यूनीकरणमा प्रहरीले खेलेको भूमि प्रशंसनीय रहेको ६९ औँ प्रहरी दिवसमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार आयोजना गरेको दिवसमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राई लगायतका वक्ताहरुले जिल्लावासीको शान्तिसुरक्षा तथा अमनचयन कायमका लागि प्रहरीले गरेका कार्यसम्पादनको खुलेर प्रशंसा गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङको कार्यालय परिसरमा आयोजित ६९ औँ प्रहरी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । अमर प्रहरी स्तम्भमा माल्यार्पण, उत्कृष्ट प्रहरी तथा प्रहरी कर्मचारीलाई पुरस्कृत, अमर प्रहरीका परिवारलाई सम्मान, सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा प्रहरी परिवारका विद्यार्थीमध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गर्दै प्रहरी दिवस मनाइएको हो ।

कार्यक्रममा उत्कष्ट कार्यसम्पादन गर्ने प्रहरी तथा प्रहरी कर्मचारी गरी छ जनालाई पुरस्कृत गरिएको छ । प्रहरी सहायक निरीक्षक मनिशकुमार यादव, प्रहरी सहायक हवल्दारहरु दीपक खत्री र अर्जुन कार्की, प्रहरी जवानहरु अनिता तामाङ र घनश्याम विश्वकर्मा तथा कार्यालय सहयोगी नारायण कार्कीलाई पुरस्कृत गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयबाट प्रहरी परिवारका विद्यार्थीमध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने पास्कल बस्नेतलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत कार्यालय सहयोगी युवराज बस्नेतका छोरा पास्कललाई नगद रु दश हजारसहित पुरस्कृत गरिएको हो ।

प्रहरी दिवसको अवसरमा आयोजित ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिताका विजयी प्रहरी खेलाडीलाई पुरस्कार वितरण गरिएको छ । युगल ब्याडमिन्टन प्रतियोगितामा प्रहरी सहायक निरीक्षक हरिबहादुर लामा र हवल्दार टेकबहादुर राईको जोडी प्रथम, प्रहरी जवान प्रमोद भुजेल र हीरा नेपालीको जोडी द्धितीय तथा सहायक हवल्दार सुमन राई र प्रहरी जवान रेवती दाहालको जोडी तृतीय भएका छन् ।

यस्तै, टेबलटेनिस प्रतियोगितामा प्रहरी जवानहरु आदित्य परियार प्रथम, प्रमोद भुजेल द्धितीय र डिप्लब घिमिरे तृतीय भएका छन् । कार्यक्रममा पाँच जना अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा प्रहरी चौकी बराहपोखरीलाई निःशुल्क जग्गा उपलब्ध गराउने तीनजना जग्गादातालाई सम्मान गरिएको छ । प्रहरी चौकी बराहपोखरीको भवन निर्माणका लागि पाँच रोपनी एक आना जग्गा निःशुल्क उपलब्ध गराउनुहुने स्थानीय वीरबहादुर राउत, अम्बिका मगर र प्रविन तामाङलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।

सम्मानित तथा पुरस्कृतलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख राई लगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब निरीक्षक प्रतिक विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालय तथा गैंरसरकारी कार्यालयका प्रमुख प्रमुख तथा प्रतिनिधि, पत्रकार, अमर प्रहरीका परिवार लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया