खोटाङ, ३० असोज । खोटाङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढीपहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचनाहरु तत्काल पुनः निर्माण गर्न माग गर्दै आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’को नेतृत्वमा सिंहदरबार पुगेको जनप्रतिनिधि तथा सरोकारवाला निकायका टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
यही असोज–१२ गते आएको बाढीले जिल्लालाई तराई हुँदै कोशी प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीस्थित फोक्सिङटारको पुल बगाएपछि नाकाबन्दी भएको, मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा क्षति पुगेको, विभिन्न ठाउँका झोलुङ्गपुलहरू बगाएको, सिँचाइ कुलोहरू, स्थानीय सडकहरू, खानेपानी, घर, पशुपन्छी तथा अन्नबालीमा ठूलो क्षति पुगेकाले उक्त भौतिक संरचनाहरूको पुनः निर्माण तथा राहतको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको टोली संयोजक एवम् कोशी प्रदेशका पूर्व उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य राईले बताउनुभयो । “ध्यानाकर्षण पत्र बुझ्नु हुँदै प्रधानमन्त्री ज्यूले फोक्सिङटारको पुल पुनः निर्माण र अस्थायी बेलिबृज जडानका लागि भोलि क्याबिनेट बैठक राखेर निर्णय गर्ने बचन दिनुभएको छ”, उहाँले भन्नुभयो, “पूर्वी तराई जोड्ने प्रमुख नाका फोक्सिङटारमा तत्कालका लागि अस्थायी बेलिबृज भए पनि जिल्लावासीका लागि राहत मिल्ने अपेक्षा गरेका छौँ ।”
यही असोज–२३ गते काठमाडौँमा भएको सर्वदलीय÷सर्वपक्षीय भेलाले प्रधानमन्त्री तथा विभागीय मन्त्रालयका मन्त्रीहरूमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको र सोहीअनुसार बुधबार ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, सामाजिक विकास मन्त्री पाँचकर्ण राई ‘पिके’, संविधानसभा सदस्यहरू समिता कार्की ‘अस्मिता’, दुर्गाजयन्ती राई, उषाकला राई, हरि रोका, अर्जुन राई, हिरा गुरुङ, पूर्व सांसदहरू टंक राई, कुलप्रसाद फुयाल, कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री राजन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायत जिल्लाका जनप्रतिनिधिहरूले सरकारलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
अविरल वर्षापछि आएको भीषण बाढीले दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सेवा पूर्णरुपमा विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।
अविरल वर्षाका कारण आएको भीषण बाढी तथा पहिरोले अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।
असोज–१३ गतेसम्म परेको वर्षासँगै आएको भीषण बाढीले क्षतिग्रस्त जिल्लाका विभिन्न नाका जोड्ने झोलुङ्गे पुलहरुको मर्मत कार्यलाई सम्बन्धित स्थानीय तहरुले तीव्रता दिएका छन् । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित बङ्शिलाघाट, धाप्लाङघाट र भण्डारेघाट लगायतका नाकाहरुमा जडान गरेर सञ्चालन गरिएको झोलुङ्गे पुलहरुमा बाढीले क्षति गरेको थियो ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र उदयपुरको रौतामाई गाउँपालिका–३ चनौटेस्थित सुनकोशी नदीको भण्डारेघाटको झोलुङ्गे पुल पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइसकिएको जनाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले रु एक लाख ४५ हजार रकम उपलब्ध गराएपछि तारजाली तथा आवश्य पर्ने सामाग्री खरिद गरेर क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिएको हो ।