खोटाङ, १ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डढेलीका ५२ वर्षीय इन्द्रकुमार राईले असोज–२८ गते आफ्नै घर नजिक चिलाउनेको रुखमा झुण्डिएर आत्महत्या गर्नुभयो । निम्न आर्थिक अवस्थाका इन्द्रकुमारले झुण्डी आत्महत्या गरेपछि २० वर्षीय छोरा चन्द्रमणीले आफन्तसँग ऋण काढेर रु १८ हजारमा ट्याक्टर रिजर्भगरी जिल्ला अस्पताल खोटाङमा ल्याएर बुबाको शव परीक्षण गराउनुभयो ।
जब कि, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी १३ किलोमिटर छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा रु नौँ हजार भाडामा रिजर्भ गरेर सामग्री ढुवानी गर्दै आएको ट्याक्टरले असोज–२९ गते शव बोक्नका लागि त्यसको ठीक दोब्बर रु १८ हजार भाडा लियो ।
असोज–२८ गते नै झुण्डिएर आत्महत्या गर्नुभएकी खोटेहाङ गाउँपालिका–४ बडकादियालेकी ५५ वर्षीया गङ्गामायाँ विश्वकर्माको शव पनि ट्याक्टर नै रिजर्भ गरेर जिल्ला अस्पताल खोटाङ ल्याइएको थियो । कमजोर आर्थिक गङ्गामायाँले आफ्नै घरको धुरीमा झुण्डिएर आत्महत्या गर्नुभएपछि स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर रु ४५ हजारमा रिजर्भ गरिएको ट्याक्टरमा विश्वकर्माको शव परीक्षण गर्न अस्पताल ल्याएका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी तथा आधारभूत अस्पताल इन्द्रेणीपोखरीमा कार्यरत डाक्टरहरु दशैँ बिदामा गएकाले ट्याक्टर रिजर्भ गरेर विश्वकर्माको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता सिर्जना भएको बडकादियालेका वडाध्यक्ष तीलकबहादुर बस्नेतले बताउनुभयो । “तीन छोरा र तीन छोरीकी आमा गङ्गामायाँको घरको आर्थिक अवस्था कमजोर छ । उहाँको श्रीमान अपाङ्ग हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकै कारण गङ्गामायाँले आत्महत्या गरेको देखिन्छ । घर व्यवहार चलाउनसमेत छिमेकीकामा गएर बुनीबुतो गर्नुपर्ने अवस्थाका गङ्गामायाँले झुण्डिएर आत्महत्या गरेपछि परिवारको बिचल्ली भएको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा एउटा पनि शव वाहन नहुँदा झुण्डी आत्महत्या गर्ने, बिष सेवन गरेर आत्महत्या गर्ने तथा भव्यतव्यमा परेर ज्यान गुमाउने मृतकका आफन्तले चर्को मूल्यमा ट्याक्टर भाडामा लिएर शव परीक्षणका लागि अस्पताल लाने गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि करोडौँ मूल्यको सुविधायुक्ता सवारी साधन खरिद गरेर प्रयोग गर्ने गरेको भएपनि दुर्घटना वा भव्यतव्यमा परेर ज्यान गुमाउने सर्वसाधारण व्यक्तिको शव परीक्षणका लागि शव वाहन नगर्दा मृतकका आफन्तले ऋण काढेर ट्याक्टर रिजर्भ पर्नुपर्ने बाध्यता छ ।
जिल्ला अस्पताल खोटाङमा शव परीक्षण गराउँदासमेत शुल्क तिनुपर्ने बाध्यता रहेको वडाध्यक्ष बस्नेतले बताउनुभयो । “गङ्गामायाँको शव परीक्षण गराउँदा त्यहाँ काम गर्ने कार्यालय सहयोगीले रु दुई हजार मागेर लगेछ । आर्थिक अवस्था कमजोर भएकै कारण मानसिक सन्तुलन गुमाएर गङ्गामायाँयाले आत्महत्या गरेकी हुन् भन्ने हाम्रो ठहर छ”, उहाँले भन्नुभयो, “सरकारले निःशुल्क गरेको शव परीक्षणमा जिल्ला अस्पतालमा शव परीक्षणका लागि डाक्टरलाई सहयोग गर्ने कार्यालय सहयोगीले पैसा मागेर हैरानी पार्दो रहेछ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
जिल्ला प्रहरी कार्यालय खोटाङले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत साउन–१ गतेदेखि असोज–३० गतेसम्ममा जिल्लाका विभिन्न ठाउँका १३ जना स्थानीयबासीले आत्महत्या गरिसकेका छन् । उनीहरु सबैका परिवारले ट्याक्टरमै अस्वभाविकमात्राको भाडामा शव बोकाएर अस्पतालमा परीक्षणका लागि ल्याउने गरेको प्रहरीले जनाएको छ ।
भव्यतव्यमा परेर ज्यान गुमाएकाको शव जुनसुकै सवारी साधनले बोक्न नमान्ने गरेकाले ट्याक्टर धनीले जति भन्यो उति भाडामा बोकाउनुपर्ने बाध्यता रहेको मृतकका आफन्तहरुले बताउने गरेका छन् । अस्पतालभन्दा टाढाको दूरीबाट ट्याक्टरमा शव बोकाउनुपरेको खण्डमा रु ७५ हजारसम्म भाडा तिर्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।
मृतकका आफन्तले चर्को मूल्यमा ट्याक्टर रिजर्भ गरेर शव बोकाउनुपर्ने बाध्यता भएपनि जिल्लाका कुनै पनि स्थानीय तहले अहिलेसम्म शव वाहन खरिदमा ध्यान दिएका छैनन् । कोशी प्रदेश सरकारमा खोटाङका दुईजना भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई र समाजिक विकास मन्त्री पाँचकर्ण राई ‘पिके’ रहनुभए पनि यसप्रति कुनै चासो नदेखाउनुभएको जिल्लाबासीको अरोप छ ।
आर्थिक वर्ष २०७८÷७९ मा कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी आत्महत्या गर्नेमा ईलामपछि दोस्रोमा खोटाङ परेको थियो । त्यो आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने ६२ जनाले झुण्डिएर आत्महत्या गरेका थिए ।
आर्थिक वर्ष २०७९÷८० मा ५१ तथा आर्थिक वर्ष २०८०÷८१ मा ३७ जनाले झुण्डी आत्महत्या गरेका थिए । कम उमेरमा विवाह, अत्यधिकमात्रामा मादक पदार्थ सेवन तथा कमजोर आर्थिक अवस्थाका कारण पारिवारिक बेमेल हुँदा जिल्लामा आत्महत्याको घटना हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।