सुमोबाट उछिट्टिएर सडकमा पछारिएका बालकको उपचारको क्रममा मृत्यु

Halesi Khabar
4.3k Shares

खोटाङ, २ कातिक । सुमो (जिप)को पछाडि झुण्डिएर यात्रा गर्नेक्रममा सुमोबाट उछिट्टिएर सडकमा पछारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका आठ वर्षीय बालक हेमन्त बस्नेको उपचारको क्रममा मृत्यु भएको छ । दिक्तेल–काठमाडौँ चल्ने ना १ ज ५७४३ नम्बरको सुमो काठमाडौँबाट दिक्तेल आएर खाल्ले जानेक्रममा पछाडिपट्टी झुण्डिएर यात्रा गरेका आठ वर्षीय बालकको गएराति हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित नगर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बालकको मृत्यु भएपछि खाल्ले नै घर भएका सुमो चालक गोविन्द कटवाल र सुमोलाई नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । “काठमाडौँबाट दिक्तेल आउने यात्रु लिएर दिक्तेलमा झारेपछि घर जानेक्रममा चालकले थाहै नपाइ बालक सुमोमा चढेको खुलेको छ”, उहाँले भन्नुभयो, “पछाडि झुण्डिएर यात्रा गरेका आठ वर्षीय बालकको चालककै लापरबाहीका कारण सडकमा पछारिएर मृत्यु भएपछि कानूनी कारबाहीका लागि चालक र सुमो नियन्त्रणमा लिएका हौँ ।”

सुमोबाट उछिट्टिएर हिजो (बिहीबार) साँझ करिब ८ः०० बजे कालोपत्र गरिएका सडकमा पछारिएका बालकको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राजधानी काठमाडौँ लैजानेक्रममा त्रिधार्मिकस्थल हलेसी पुग्दा सिकिस्त भएपछि दुर्छिमस्थित नगर अस्पताल भर्ना गरिएको आफन्तले बताएका छन् । उपचारका लागि काठमाडौँ लगिएका बालकको बाटैमा मृत्यु भएपछि उनको शव परीक्षणका लागि आज (शुक्रबार) बिहान जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।

चालक कटवाल काठमाडौँबाट आउने यात्रु दिक्तेलमा झारेर आफ्नै घर खाल्ले गएर बस्दै आएका थिए । चालक कटवाल घर फर्कनेक्रममा बाटोमा भेटिने स्थानीयलाई समेत सोही सुमोमा चढाएर घरसम्म पु¥याउँदै आउने गरेको छिमेकीहरुले बताएका छन् ।

 

 

तपाईको प्रतिक्रिया