सडक विभागका उच्चस्तरीय टोलीद्धारा बाढीले बगाएको फोक्सिङटार पुल निरीक्षण

Halesi Khabar
168 Shares

खोटाङ, २ कातिक । सगरमाथा राष्ट्रि«य राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले स्थलगत निरीक्षण गरेको छ । खोटाङबाट पूर्वी तराई जोड्न सबैभन्दा छोटो मार्गमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि सडक विभाग अन्तरगत विकास सहायता कार्यान्वन महाशाखा प्रमुख डा. विजय जैसी नेतृत्वमा आएको टोलीले स्थलगत निरीक्षण गरेर फर्किएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, महाशाखा प्रमुख ललिजन खनाल, पुलचोक इन्जिनियरिङ क्याम्पसका विज्ञ डा. राजन सुवाल र डा. भरत मण्डलसहितको टोली बढीले क्षतिग्रस्त फाक्सिङटार पुल पुग्नुभएको थियो । सुनकोशीमा अहिले पानीको सतह घटेको र बाँकी रहेको २०÷२० मिटरको संरचना सुरक्षित रहेको निष्र्कष निकालेको छ ।

बाढीले बगाएर बाँकी रहेको भागको भारवहन क्षमता जाँच गरेर त्यसमाथि ८० मिटरको बेलिबृज लगाउने या पुल बगाएको स्थानभन्दा केही माथि १२० मिटरको बेलिबृज हालेर यातायात सञ्चालन गर्ने विषयमा छलफल भई रहेको पुल महाशाखा प्रमुख ललिजन खनालले जानकारी दिनुभयो । सडक विभागले ८० मिटरभन्दा माथिको बेलिबृज भारत सरकारसँग माग गरेको र आउने बित्तिकै जडान प्रक्रिया शुरु गरिने पनि महाशाखा प्रमुख खनालले बताउनुभयो ।

पुलको ८० मिटरको भाग बगाएको हुनाले त्यसैमा बेलिबृज जोड्न ८० मिटरभन्दा लामो बेलिबृज आवश्यक हुने टोलीले जनाएको छ । नेपालमा ८० मिटरभन्दा लामो बेलिबृज उपलब्ध नभएकाले भारतबाट मगाइएको भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले जानकारी दिनुभएको एमाले नेता भट्टराईले जानकारी दिनुभयो ।

फोक्सिङटारमा हिउँद÷वर्षा चल्ने गरी बेलिबृज तत्काल जोड्ने र अर्को स्थायी पुलको कार्य अघि बढाउने गरि प्रक्रिया अघि बढाइएको जनाइएको छ । अविरल वर्षापछि आएको भीषण बाढीले दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सेवा पूर्णरुपमा विच्छेद भएको छ ।

बाढीले फोक्सिङङार पुल बगाएपछि जिल्लाका विभिन्न नाका जोड्ने झोलुङ्गे पुलहरुको मर्मत कार्यलाई सम्बन्धित स्थानीय तहरुले तीव्रता दिएका छन् । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल गत असोज–१२ गते आएको भीषण बाढीले बगाएको हो ।

यसअघि गत असोज–३० गते खोटाङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढीपहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचनाहरु तत्काल पुनः निर्माण गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’को नेतृत्वमा सिंहदरबार पुगेको जनप्रतिनिधि तथा सरोकारवाला निकायका टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

भीषण बाढीले जिल्लालाई तराई हुँदै कोशी प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीस्थित फोक्सिङटारको पुल बगाएपछि नाकाबन्दी भएको, मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा क्षति पुगेको, विभिन्न ठाउँका झोलुङ्गपुलहरू बगाएको, सिँचाइ कुलोहरू, स्थानीय सडकहरू, खानेपानी, घर, पशुपन्छी तथा अन्नबालीमा ठूलो क्षति पुगेकाले उक्त भौतिक संरचनाहरूको पुनः निर्माण तथा राहतको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाइएको टोली संयोजक एवम् कोशी प्रदेशका पूर्व उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य राईले बताउनुभयो । “ध्यानाकर्षण पत्र बुझ्नु हुँदै प्रधानमन्त्री ज्यूले फोक्सिङटारको पुल पुनः निर्माण र अस्थायी बेलिबृज जडानका लागि क्याबिनेट बैठक राखेर निर्णय गर्ने बचन दिनुभएको छ”, उहाँले भन्नुभयो, “पूर्वी तराई जोड्ने प्रमुख नाका फोक्सिङटारमा तत्कालका लागि अस्थायी बेलिबृज भए पनि जिल्लावासीका लागि राहत मिल्ने अपेक्षा गरेका छौँ ।”

अविरल वर्षाका कारण आएको भीषण बाढी तथा पहिरोले अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड भने, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । ।

तपाईको प्रतिक्रिया