खोटाङ, ५ कातिक । हिरासतबाट भाग्नेक्रममा प्रहरीको कुटपिटबाट ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका थुनुवा भूदेउ भनिने १८ वर्षीय किरण राईको परिवारले दोषीमाथि कारबाही तथा मृतकका परिवारलाई क्षतिपूर्तीको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा निवेदन दिएका छन् । ज्यान मुद्दामा वि.सं. २०७० जेठ–२८ गते पक्राउ परेका भूदेउको वि.सं. २०७० असार–२६ गते जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतबाट भाग्ने क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगले सो घटनामा प्रहरी अधिकृतसहित ११ जनालाई कारबाही गर्न र पीडित परिवारलाई रु तीन लाख क्षतिपूर्ती दिन वि.सं. २०७० भदौ–१६ गते सरकार समक्ष सिफारिस गरेको थियो । कुटपिटबाट थुनुवाको मृत्यु भएको घटनामा मानव अधिकार आयोगले तत्कालीन प्रहरी नायब उपरीक्षक राजिव बस्नेत र प्रहरी निरीक्षक रमेश देवलाई विभागीय कारबाही तथा प्रहरी नायब निरीक्षकहरु महेन्द्र खत्री र मुकुन्दप्रसाद विडारी, प्रहरी हवल्दार सुरेशप्रसाद यादव, प्रहरी जवानहरु नकुल राई, रामकुमार बोगटी, कैलाश खत्री, चन्द्र खड्का, देवराज माझी र नारायण खड्कालाई मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।
आयोगले सिफारिस गरेको ११ वर्ष बित्दासमेत जिल्ला प्रहरी कार्यालय खोटाङले दोषीमाथि कारबाहीको कुनै पनि प्रक्रिया अगाडि नबढाएकाले आज (सोमबार) जिल्ला प्रशासन कार्यालय खोटाङलाई निवेदन दिएको मृतकका आफन्त (काका) रञ्जिव राईले बताउनुभयो । “घटनामा संलग्न विपक्षीहरुको नाममा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुङ्गाले समेत परमादेश जारी गरेको थियो । तर, अहिलेसम्म कारबाहीको प्रक्रिया अगाडि बढेको छैन”, उहाँले भन्नुभयो, “राष्ट्रिय मानव अधिकार आयोग र उच्च अदालतको परमादेशसमेत कार्यान्वयन नभएपछि प्रशासनमा निवेदन दिएका हौँ । आशा छ, ढिलै भएपनि दोषीमाथि कारबाही र पीडित परिवारले क्षतिपूर्ती पाउने छौँ ।”
एघार वर्षअघिको सिफारिस कार्यान्वयनको अवस्थाका बारेमा आयोगको कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले गत साउन–३० गते जिल्ला प्रहरी कार्यालयलाई अनुसन्धानको उपलब्धीका बारेमा जवाफ माग गरेको थियो । प्रहरीले वि.सं. २०८१ भदौ–५ गते भूदेउको घटनामा अनुसन्धान जारी रहेको जवाफ दिएको राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख गीताकुमारी दाहालले बताउनुभएको छ ।
वि.सं. २०७० असार–२१ गते प्रहरीको हिरासतबाट भाग्दै गरेको अवस्थामा सोही दिन बुइपाबाट पक्राउ परेपछि भूदेउलाई प्रहरीले निर्घात कुटपिट गरेको मृतकका परिवारको दाबी छ । मृतकको शव परीक्षण प्रतिवेदन तथा मानव अधिकार आयोगको छानविन टोलीको प्रतिवेदनले यातनाका कारण भूदेउको मृत्यु भएको पुष्टि गरे पनि दोषीलाई कारबाही नभएको मृतककी आमा लक्ष्मी राईको गुनासो छ ।
हिरासतमा रहेका भूदेउ हत्या काण्डका विषयमा पीडित परिवारले सार्वजनिक समारोह तथा प्रहरीले आयोजना गर्ने कार्यक्रमहरुमा पटक–पटक कुरा उठाउँदै आएका छन् । पीडित परिवारले दिएको निवेदन दर्ता गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा पठाइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।