खोटाङ, ५ कातिक । प्रथम सोल्मा यू–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो)ले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको आफ्नै खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक्तेल फुटबल क्लब दिक्तेललाई ३–० हराउँदै आयोजक निलोले उपाधि जितेको हो ।
खेलको पहिलो हाफको नवौँ मिनेटमा सोल्मा निलोका जर्सी नम्बर ६ का खेलाडी प्रविण तामाङले गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको २० औँ मिनेटमा सोल्मा निलोका गोल रक्षक पास्कल बस्नेतले पोष्टबाटै हानेको बल गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो ।
दोस्रो हाफको ३३ औँ मिनेटमा सोल्मा निलोका जर्सी नम्बर ११ का खेलाडी तीलक कार्कीले तेस्रो गोल गर्नुभएपछि जित सुनिश्चित भएको थियो । उपाधि विजेता आयोजकले रु २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कार समेत पाएका छन् । बेष्ट प्लेयरमा सोल्मा निलोका तीलक कार्की, हाइ स्कोररमा सोल्मा निलोकै प्रविण तामाङ, बेष्ट किपरमा सोल्मा निलोकै पास्कल बस्नेत, बेष्ट डिफेण्डरमा सोल्मा निलोकै दिलीप राई, बेष्ट मिडफिल्डर सोल्मा निलोकै आशिष राई र बेष्ट कोच सोल्मा निलोकै सनम राई घोषित भएको आयोजक सोल्मा स्पोर्टस क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरूमध्ये बेष्ट प्लेयर तीलक कार्कीले नगद रु दुई हजार २२२, ट्रफी र प्रमाणपत्र तथा अन्य विद्यागत पुरस्कार विजेताहरूले जनही नगद रु एक हजार १११ को साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । चाडबाडको बेला युवाहरूलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै कुलतबाट जोगाउन फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक सोल्मा स्पोर्टस् क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताउनुभयो ।
विजयी समूह तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईले पुरस्कार वितरण गर्नुभएको थियो । यही कातिक–२ गतेदेखि शुरु भएको प्रथम सोल्मा यू–१७ फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका आठवटा क्लबका खेलाडी सहभागी भएका थिए ।