अमेरिका गएका वडाध्यक्ष नफर्केपछि स्थानीयले लगाए वडा कार्यालयमा ताला

Halesi Khabar
252 Shares

खोटाङ, ७ कातिक । अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिना बित्दा पनि नफर्केपछि स्थानीयबासीले आज (बुधबार) वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । भ्रमण भिसामा अमेरिका जानुभएका वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वदलीय÷सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वि.सं. २०८० माघ–१७ गतेदेखि वडामा अनुपस्थित हुँदै आउनुभएका वडाध्यक्ष कटवाल वडा सदस्यलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका जानुभएको थियो । ज्येष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी वि.सं. २०८० माघ–१९ गते कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएर वडाध्यक्ष कटवाल अमेरिका जानुभएको हो ।

गत साउन–२१ गते पूर्ववडाध्यक्ष भट्टराईकै संयोजकत्वमा वडाध्यक्ष नहुँदा वडामा हुने समस्याको समाधान गर्न बनाइएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र वडामा आएर जनताको काम गर्न अल्टिमेटम दिएको थियो । तर, वडाध्यक्ष कटवाल अल्टिमेटम कटेर महिनौँ बित्दा पनि वडा नफर्केपछि अन्ततः ताला लगाउन बाध्य भइएको पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभएको छ ।

वडाध्यक्ष कटवाल कार्यालयमा नहुँदा वडामा जनतालाई दिइने सम्पूर्ण सेवा सुविधादेखि विकास निर्माण लगायत सम्पूर्ण काममा अवरोध पुगेको स्थानीयले बताएका छन् । अमेरिका जानुभएका वडाध्यक्ष कटवाल नफर्केको विषयमा यसअघि नै जिल्ला निर्वाचन आयोगको कार्यालय खोटाङ, गाउँ कार्यपालिका र जिल्ला समन्वय समिति खोटाङमा निकासका लागि अनुरोध गरिसकिएको पूर्ववडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

छोरी÷ज्वाइँले पठाएको भिसामा अमेरिका जानुभएका कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । अमेरिका जानुभएका वडाध्यक्ष कटवाल नफर्किएपछि माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि वडाध्यक्षको बिरोधमा ताला लगाउन सहभागी भएका थिए ।

नेकपा (माओवादी केन्द्र)सँगै, नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मात्तिमले संयुक्त विज्ञप्ति जारी गरेर वडाध्यक्ष कटवालको बिरोध जनाएको छ । नागरिकता लिन जिल्ला प्रशासन कार्यालय खोटाङ पुगेका सेवाग्राहीलाई प्रशासनले अवधि नतोकिएका कार्यवाहक वडाध्यक्षले दिएको सिफारिस मान्य नहुने भन्दै फर्काइ दिने गरेकाले समस्या समाधानका लागि वडा कार्यालयमा तालाबन्दी गर्नुपरेको उनीहरुले बताएका छन् ।

वडाध्यक्ष कटवाल वि.सं. २०७९ सालमा पनि साढे दुई महिना अमेरिका बसेर फर्किनुभएको थियो । वडाध्यक्ष कटवालले त्यसबेला चारजना वडा सदस्यलाई पालैपालो १५÷१५ दिनको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

वडाध्यक्ष कटवाल दशैँ÷तिहार मान्न पनि नफर्केपछि अमेरिकामै बस्नका लागि पिआरको प्रक्रियामा रहेको स्थानीयबासल्े आरोप लगाएका छन् । निर्वाचित वडाध्यक्ष अमेरिका गएर बसेपछि आक्रोशित स्थानीयले वडा कार्यालयमा ताला लगाएर निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राईलाई जानकारी दिएका छन् ।

स्थानीय बासिन्दाले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको विषयमा साकेला गाउँपालिकाको कार्यालय तथा वडाध्यक्ष कटवालको पार्टी नेकपा (माओवादी केन्द्र) खोटाङ अहिलेसम्म केही बोलेको छैन । आक्रोशित स्थानीय बासिन्दाले भने, जनताको जनमतलाई बेवास्ता गर्ने वडाध्यक्ष कटवाललाई तत्काल कानूनी कारबाही गरेर अर्को वडाध्यक्षको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया