तरुण दलले बनायो दिक्तेल बजारको किरातचोकमा जेब्रा क्रस

Halesi Khabar
49 Shares

खोटाङ, १० कातिक । नेपाल तरुण दल जिल्ला कार्यसमिति खोटाङले दिक्तेल बजारको किरातचोकमा जेब्रा क्रस बनाउनुका साथै बोर्डिङ बोर्ड निर्माण गरेर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । तरुण दलको ७२ औँ स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमितिले मध्यपहाडी लोकमार्गअन्तरगत किरातचोकमा जेब्रा क्रस बनाउनुका साथै ट्राफिक चिन्हसहितको होर्डिङ बोर्ड निर्माण गरेर हस्तान्तरण गरेको हो ।

दिक्तेल बजारस्थित दिक्तेल बहुमुखी क्याम्पस जाने बाटोको दायाँ–बायाँ हुनेगरी जेब्रा क्रस बनाइएको जिल्ला अध्यक्ष काजीमान राईले बताउनुभयो । तरुण दलले बढी भीडभाड र आवत–जावत हुने ठाउँ छानेर जेब्रा क्रस बनाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वि.सं. २०८० चैतमा दिक्तेलको किरातचोक लगायतका ठाउँमा जेब्रा क्रस बनाएको थियो । नगरपालिकाको लगानीमा बनाइएको जेब्रा क्रस मेटिएपछि त्यही स्थानमा तरुण दलले नयाँ बनाएको हो ।

तरुण दलले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दुई थान ट्राफिक चेकिङ होर्डिङबोर्ड पनि प्रदान गरेको छ । जेब्राक्रस निर्माण तथा होर्डिङ बोर्ड हस्तान्तरण कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य सञ्जयकुमार राई, नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति खोटाङका अध्यक्ष मोतिचन्द्र राई, तरुण दलका दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्ष दिवासन राई लगायतका युवाको सहभागिता रहेको थियो ।

नगरपालिकाको रु नौँ लाख ९३ हजार ८०७ मा निर्माण गरिएको जेब्रा क्रस तथा स्पिड ब्रेकर मापदण्डबिपरित भएको भन्दै आलोचनासमेत भइरहेको छ । दिक्तेल बजारका विभिन्न १६ ठाउँमा स्पिड ब्रेकर तथा दश ठाउँमा जेब्रा क्रस निर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया