खोटाङ, १० कातिक । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन हुनुभएको छ । हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १८ वर्षअघि स्थापना गरिएको केन्द्रको पाँचौँ अधिवेशन तथा ११ औँ साधारणसभाले महिला नेतृ राईलाई पुनः चौथो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
पन्ध्र सदस्यीय जिल्ला कार्यसमिति रहेको महिला एकता अध्ययन केन्द्रको उपाध्यक्षमा बिन्दा थापा, सचिवमा कमला घिमिरे, सह–सचिवमा चन्द्रकला कार्की र कोषाध्यक्षमा मनिशोभा राईलाई चयन गरेको छ । महिलाहरुमा अध्ययन गर्ने बानीको विकास गर्ने÷गराउने लक्ष्यका साथ जिल्लास्थित सबै राजनीतिक दलका महिला नेतृहरुको सहकार्यमा वि.सं. २०६३ सालमा महिला एकता अध्ययन केन्द्र स्थापना गरिएको हो ।
महिला एकता अध्ययन केन्द्रको अधिवेशनले प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सरस्वती बजिमयको संयोजकत्वमा नौँ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समिता कार्की ‘अस्मिता’, कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवम् एमाले नेतृ उषाकला राई, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राई लगायतका महिला नेतृहरु सल्लाहकार समितिमा रहनुभएको छ ।
रावाबेँसी गाउँपालिकाका उपप्रमुख कौशिला गुरुङको प्रमुख आतिथ्यतामा आज (शनिबार साँझ) सम्पन्न पाँचौँ अधिवेशन तथा ११ औँ साधारणसभामा जिल्लास्थित विभिन्न राजनीतिक दलका महिला नेतृहरुको सहभागिता रहेको थियो । अधिवेशन तथा साधारणसभा उद्घाटन कार्यक्रममा गैंर सरकारी संस्था महासङ्घ खोटाङका युवराज रिजालले संस्था सञ्चालन सम्बन्धी प्रशिक्षणसमेत दिनुभएको थियो ।
‘बिना अध्ययन मानव जीवन अपुरो हुने र जुनसुकै कामको सफलताको कल्पना गर्न सकिन्न’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्थापना गरिएको अध्ययन केन्द्रले आफ्नै कार्यालयमा पुस्तकालयसमेत सञ्चालन गर्दै आएको छ । परिवार, समाज र देशले अपेक्षित गति लिन नसक्नुमा एउटा कारण अध्ययनकै कमीले भएकाले अध्ययन सँस्कृतिको विकास गर्न पुस्तकालय सञ्चालन गरिएको अध्यक्ष राईले बताउनुभयो ।
दिक्तेल बजारमा भाडाको कोठाबाट सञ्चालन हुँदै आएको अध्ययन केन्द्रलाई कृषिविज्ञ मदन राईले निःशुल्क जग्गा उपलब्ध गराउनुभएपछि आफ्नै भवनसमेत निर्माण गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहका महिलाहरु सहभागी महिला एकता अध्ययन केन्द्रमा ८० जना साधारण सदस्य रहेको जनाइएको छ ।