तिहारमा आवश्यक फूलमा खोटाङ परम्परागत खेतीबाटै आत्मनिर्भर

Halesi Khabar
35 Shares

खोटाङ, १३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी आस्था मगरले हरेक वर्षको तिहार (भाइटीका)मा १२ जना दाजु र आठ जना भाउजू तथा गाउँभरिका दाजुभाइलाई माइती पुज्दै आउनुभएको छ । बिगतका वर्षहरुमा प्रयाप्त फूल नहुँदा जङ्गली फूलहरु (चुलेथ्रो र चुरी) खोजेर माइती पुज्दै आउनुभएकी मगरलाई यस वर्षको तिहारमा भने, त्यस्तो बाध्यता छैन । मगरको घरवरिपरि तथा बारीमा सयपत्री र गोदावरी फूलहरु प्रयाप्त मात्रामा ढकमक्क फुलेका छन् ।

तिहारका लागि आवश्यक पर्ने फूल यस वर्ष आफ्नै घरवरिपरि तथा बारीमा प्रयाप्त फुलेकाले भाइटीकाभन्दा तीन दिन अगाडिमात्र टिपेर माला गाँस्ने तयारी गरेको मगरले बताउनुभयो । “घरका दाजुभाइ तथा भाउजूबहारीसँगै गाउँभरिका दाजुभाइ तिहारमा फूल लगाउन आउने गर्नुहुन्छ । लामो समयदेखि हाम्रो गाउँमा चलिआएको यो चलन राम्रो पनि लाग्छ । तर, फूल नभएको वर्षहरुमा भने, धेरै नै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “यस वर्षको तिहारमा जति पनि फूलहरु आफै घरबारीमा फुलेका छन् । हाम्रो घर तथा बारीमा फुलेका फूलहरु हेर्दा जो कोहीको मन लोभ्याउने गरेको छ ।”

खार्मीका अधिकांश गाउँ तथा टोलका स्थानीयबासीले धुमधामका साथ तिहार मनाउने गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारभन्दा करिब १३ किलोमिटर टाढा पर्ने खार्मीमा दुतीया (भाइटीका)देखि कम्तिमा तीन दिन तथा चेलीको घर पुग्न बाँकी रहेको खण्डमा एकादशीसम्ममा पनि फूल लगाउने चलन छ ।

वर्ष दिनमा एक पटक आउने साँस्कृतिक चाड तिहारको अवसरमा गाउँका सबैजसो घरमा पुगेर चेली (दिदीबहिनी)को हातबाट फूल लगाउने गरिएको खार्मीस्थित सोतीका हर्कराज राईले बताउनुभयो । “हाम्रो गाउँमा तिहारको अवसरमा सबै दाजुभाइ भेला भएर हरेक घरका चेली (दिदीबहिनी)का घरमा पुगेर उनीहरुको हातबाट फूल लगाउने चलन छ । यसरी तिहार मनाउने चलन कमै ठाउँमा होलान्”, उहाँले भन्नुभयो, “यो चाडले चेली र माइतीको मात्र नभइ गाउँ र समाजलाई समेत एकतामा बाँधेको छ ।”

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तहका कृषकले व्यवसायिक फूल खेती गरेका छैनन् । केही वर्षअघि हलेसी तुवाचुङले व्यवसायिकरुपमा फूल खेती गर्ने किसानलाई अनुदान दिए पनि निरन्तरता दिन सकेन ।

व्यवसायिक फूल खेतीका लागि जिल्लाका सबै स्थानीय तहका हावापानी तथा भौगोलिक अवस्था अनुकूल भएपनि अहिलेसम्म व्यवसायिक खेती भने, नगरेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्ति प्रमुख हरिनारायण राईले बताउनुभयो । फूलैफूलको चाड भनेर चिनिने तिहारमा जिल्लाका सबै दिदीबहिनीले आफ्नै घरवरपर तथा बारीमा परम्परागतरुपमा रोपिएका फूल प्रयोग गर्दै आएका छन् ।

जिल्लामा व्यवसायिक फूल खेती गरेर आम्दानीको स्रोत वृद्धि गर्न सकिने प्रचुर सम्भावना भएपनि जिल्लाका कुनै पनि स्थानीय तहले यसप्रति चासो नदिएको कृषि विज्ञ मदन राईले बताउनुभयो । “हाम्रो जिल्लाका हरेक स्थानीय तहमा व्यवसायिक फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना छ । तर, यसप्रति अहिलेसम्म कसैको पनि ध्यान गएको छैन”, उहाँले भन्नुभयो, “परम्परागतरुपमा गरिएका फूल खेतीले नै जिल्लामा प्रयाप्तमात्रामा फूलको उपलब्धता छ । यसलाई व्यवसायिकीकरण गर्न सकेकामा परम्परागत फूल खेती गर्दै आएका स्थानीय कृषकका लागि मात्र नभइ सम्बन्धित स्थानीय तहको लागिसमेत आम्दानीको स्रोत वृद्धि गर्न सघाउ पुग्छ ।”

साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषि विज्ञ राईले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा व्यवसायिक फूल खेतीलाई प्राथमिकतामा राख्न जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको छ । मानिसका लागि आवश्यक पर्ने खानापछि हेर्नका लागि आवश्यक पर्ने मनोरम दृष्य फूल भएकाले नेपाललाई फूलैफूलको देश बनाउन सकिने सम्भावना रहेको कृषि विज्ञ राईले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया