टोलटोलमा तिहार विशेष कार्यक्रम : मनोरञ्जनसँगै सामाजिक काम गर्ने उद्देश्य

Halesi Khabar
84 Shares

खोटाङ, १६ कात्तिक । किरात सेवा समाज खोटाङले दिक्तेल बजारका विभिन्न ठाउँमा देउसी÷भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको विभिन्न सातवटा टोलमा आयोजना गरिएको देउसी÷भैलो कार्यक्रममा सङ्कलित रकमले अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा मनोरञ्जन गर्नुका साथै सामाजिक काम गर्ने उद्देश्यले देउसी÷भैलो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष ध्यानबहादुर राईले बताउनुभएको छ । “किरात सेवा समाजमा १८१ घर आवद्ध छौँ । प्रत्येक घरमा पुग्न सकिने सम्भावना रहेन । त्यसैले सातवटा टोल निर्धारण गरेर कार्यक्रम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यसअघि नै स्थापना गरिएको अक्षयकोषमा रु छ लाख ५० हजार बचत छ । यस वर्ष रु दश लाख पु¥याउनेगरी देउसी÷भैलो कार्यक्रम आयोजना गरिएको हो ।”

साईनो कला केन्द्र खोटाङले पनि दिक्तेल बजारमै देउसी÷भैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । काग तिहार अर्थात यमपञ्चकको दिनबाट साईनो कला केन्द्रले आयोजना गरेको देउसी÷भैलो कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुले दिक्तेल बजारका विभिन्न चोकचोकमा पुगेर भरपुर मनोरञ्जन दिइरहेका छन् ।

दिक्तेल बजारमा एउटा सुविधा सम्पन्न रेकर्डिङ स्टुडियो स्थापना गर्ने उद्देश्यले यस वर्षको तिहारमा देउसी÷भैलो कार्यक्रममा आयोजना गरिएको केन्द्रका अध्यक्ष भक्तबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । “जिल्लामा अहिलेसम्म एउटा पनि रेकर्डिङ स्टुडियो छैन । एउटा गीत रेकर्ड गर्नुप¥यो भने, राजधानी काठमाडौँ लगायत शहर जानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “जिल्लामै एउटा रेकर्डिङ स्टुडियो भएको खण्डमा कलाकारहरुले लाखौँ रकम खर्चनु पर्दैन । यसले गीत÷सँगीतको प्रवद्र्धन हुनुका साथै कलाकारहरुसमेत उत्पादन हुने अवसर सिर्जना हुन्छ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माध्यमिक विद्यालयले तिहार विशेष देउसी÷भैलो कार्यक्रम आयोजना गरेको छ । वि.सं. २००९ सालमा स्थापना भएको विद्यालयमा सञ्चालित कक्षा–११ र १२ का शिक्षकलाई तलब खुवाउन तथा प्रशासनिक खर्च जुटाउनका लागि देउसी÷भैलो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश राईले जानकारी दिनुभएको छ ।

तीन दिने कार्यक्रममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, महिलाहरुका लागि तानडोरी, शिक्षक तथा कर्मचारीका लागि म्युजिकल चियर र विद्यार्थीका लागि लोक नृत्य प्रतियोगितासमेत आयोजना गरिएको जनाइएको छ । चाड मनाउन गाउँ आएका युवालाई समेटेर सामाजिक काम गर्ने उद्देश्यले विद्यालयको तर्फबाट देउसी÷भैलो कार्यक्रमसँगै प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको हो ।

खार्मीकै बोहोरीबोटस्थित लालीगुँरास टोल विकास समितिले कातिक–१६ र १७ गते देउसी÷भैलो कार्यक्रम आयोजना गरेको छ । टोल विकास समितिमा आवद्ध ५७ घर स्थानीयबासीको घरघरमा पुगेर देउसी÷भैलो खेल्दै रकम सङ्कलन गरेर विपद् व्यवस्थापन कोष स्थापना गर्ने तयारी गरिएको हो ।

गाउँघरमा भैपरी आउने घटनाबाट पीडित बनेका व्यक्ति तथा परिवारलाई तत्काल उद्धार गर्ने उद्देश्यले यस वर्षको तिहारमा मनोरञ्जनसँगै स्वच्छिकरुपमा रकम सङ्कलन गर्ने तयारी गरिएको समितिका अध्यक्ष दीलकुमार राईले जानकारी दिनुभयो । “हाम्रो टोलमा अहिलेसम्म विपद् आइपर्छ भनेर कसैले पनि बचत गरेका छैनन् । परेको बेला सबैसँग पैसा हुन्छ भन्ने पनि छैन”, उहाँले भन्नुभयो, “आफूसँग बचत नहुँदा धेरै घरपरिवारले दुःख पाएका छन् । आगामी दिनमा त्यस्तो नहोस भनेर विपद् व्यवस्थापन कोष स्थापना गर्नेगरी यस वर्षको तिहारमा देउसी÷भैलो कार्यक्रम आयोजना गरिएको हो ।”

दश स्थानीय तह रहेको जिल्लामा तिहारको अवसर पारेर विभिन्न साँस्कृतिक कार्यक्रमसँगै प्रतियोगितात्मक कार्यक्रमहरुसमेत सञ्चालन भइरहेका छन् । दशैँ तथा तिहारको अवसर पारेर विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने प्रतियोगितात्मक कार्यक्रमहरुका लागि सम्बन्धित स्थानीय तहले आर्थिक सहयोगसमेत गरेका छन् ।

वर्षमा एक पटक आउने चाड तिहारको अवसरमा आयोजित विभिन्न कार्यक्रममले गाउँघर गुञ्जयमान बनेका छन् । अध्ययन, रोजगारी तथा विभिन्न कामले जिल्ला बाहिर रहेका स्थानीयबासीहरु समेत तिहार मान्न आफ्नो गाउँ आएका छन् ।

चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक घटनालाई न्यूनीकरण गर्न राति ११ बजेसम्ममात्र देउसी÷भैलो कार्यक्रम गर्न जिल्लाबासीलाई आग्रह गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । तिहारको मौकामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तथा जिल्लाबासीका लागि शान्ति सुरक्षा दिन उच्च सुरक्षा सतर्कता अपनाएर चौबीसै घण्टा प्रहरी गस्तीसमेत परिचालन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया